
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले कोरोना भाइरस विरूद्धको खोप कार्यक्रम संचालनका लागि नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रूपैयाँ बराबरको ऋण दिने भएको छ ।
बैंकले नेपाललाई दिने यो ऋण स्वीकृत गरेको छ । यो ऋण रकमबाट नेपालको खोप अभियान अझै प्रभावकारी विस्तार हुने बैंकको विश्वास छ । यसबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
कोरोना भाइरसको थप विस्तारलाई रोक्नका लागि अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई बैंकले सहयोग गर्दै आएको र गरिने बैंकका अध्यक्ष मासासुगु आसाकावाले बताउनुभएको छ ।
‘जनजीवन तथा आर्थिक गतिविध पुनरुत्थानका लागि कोभिड-१९ विरूद्धको खोप तत्काल खरिद गरेर वितरण गर्नु अत्यावश्यक छ। मानव विकास तथा शैक्षिक गतिविधि लगायतका जीवनसँग जोडिएका हरेक कुरालाई गति दिन पनि हाम्रो सहयोग जारी रहन्छु ।’ अध्यक्ष आसाकावाले भन्नुभएको छ ।





