
नेपालगञ्ज । प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भारत बहराइच बस्ने २८ वर्षीय सलमान खाँन, लखनउ बस्ने २८ वर्षीय मुस्तकिम सिद्दिकी र नेपालगन्ज वडा नं–११ बस्ने २२ वर्षीय आजाद कबडियालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्ज वडा नं– १२ बस्ने दिब्या खड्काको घरमा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले छापा मारेर ४३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरी आज शनिबार पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले जनाएको छ ।
खड्काको घरमा डेरा लिएर बस्ने सिद्दिकीको कोठामा सो लागू औषध बरामद भएको हो । उनिहरुमाथि थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
सिद्दिकी र खाँनले भारतबाट लागू औषध ब्राउन सुगर नेपालमा ल्याउने र कबडियाले बिक्री वितरणमा सघाउने गरेका थिए । सिद्दिकी नेपालगन्ज एक्लैनीस्थित सुन पसलमा कार्यरत रहेको खुलेको छ । उनीहरुले प्रति ग्राम १५ सयमा ब्राउन सुगर भारतबाट ल्याउने र नेपालमा भने ३ हजारदेखि ४ हजारसम्म बिक्री गर्ने गरेका थिए ।






