
मधुवन । किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सुधार परियोजना आज देखी बर्दिया जिल्लाको मधुवन नगरपालिकामा सुरु गरिएको छ ।
परियोजना औपचारिक उदघाटन गर्दै मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले बिद्यालयमा किशोर–किशोर मैत्री शिक्षा, बिद्यालयहरुमा बृहत यौनिक शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यको बिषयमा पठन पाठन प्रभावकारी बनाइने बताउनुभएको छ ।
क्षेत्रीले बिद्यालयमा बृहत यौनिकता शिक्षा पठनपाठनलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउँदै किशोरीहरुको अधिकार र प्रजनन स्वास्थ्य र अधिकारहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिने बताउनुभयो ।
मधुवन नगरपालिका उपप्रमुख सुबरानी थारुले किशोर–किशोरीको समग्र बिकास एबं रुपान्तरणको लागि अभिभावकहरुको अभिमुखिकरणलाई जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान समयमा यस पालिकामा बाल विवाह, भागि विवाह जस्ता घटनाहरु धेरै भइरहेको यस्ता घटना प्रति दुःख प्रकट गर्नु भयो । कार्यक्रमले उमेर नपुगी विवाह गर्दा आईपर्ने समस्याहरुको बारेमा किशोर–किशोरी तथा अभिभावकहरुमा सकारात्मक सोचमा बिकास हुने बताउनुभयो । साथै बालविवाह, भागी विवाह जस्ता घटनाहरुमा समेत सुधार हुने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा, योजना शाखाको सहभागिता रहेको थियो । कार्यक्रममा गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहले कार्यक्रमको उद्धेश्य बारे जानकारी गराउनु भएको थियो ।
प्लान इन्टरनेशनलका कार्यक्रम बिशेषज्ञ बिनय ज्ञवालीले परियोजनाको बारेमा प्रस्तुती राख्नुभएको थियो । यो परियोजनो बर्दियाको मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा संचालन हुने गेरुवा ग्रामीण जागरण संघका परियोजना संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।
परियाजना संचालनको शुभारम्भ कार्यक्रम मधुवनसंगै ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सम्पन्न भइसकेको छ ।






