नेपालीले किन्छन २५० रूपैयाँ केजी चामल

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् । अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन् । गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो रु २५० सम्ममा खरिद बिक्री हुन थालेको छ।

चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा रु २५० प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले जानकारी दिनुभयो ।

“नेपालकै भूमि भएर कुञ्चा बसाइँसराइ सर्दा बाटोघाटो थिएन। अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ । चामल किन्न पाइँदैन । केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ”, खातीले भन्नुभयो ।

उहाँकाअनुसार अहिले छाङ्गरु र तिङ्करमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन् । अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता पुराना अन्न अहिले आएर प्रयोग गर्दै आएका छन् ।

सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ ।

विगतमा रु ८० देखि ९० प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ। “घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्”, स्थानीय गीता बोहराले भन्नुभयो, पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ । समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।

व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले छाङ्गरु र तिङ्करके लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताउनुभयो । यहाँका दुवै गाउँका लागि सदरमुकाम खलङ्गामा खाद्यान्न पुगिसकेको बताउँदै उहाँले थप्नुभयो, “मौसम सफा हुने बित्तिकै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ ।”

दुवै गाउँका लागि सरकारले २०० क्विन्टल खाद्यान्न पुर्‍याउँदैछ । अहिले छाङ्गरुमा ११९ घरधुरी र तिङ्करमा ७० घरधुरी छन् भने दर्जन बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन् ।

छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न शनिबार हेलिकप्टर प्रस्थान गरे पनि मौसममा सुधार हुन नसक्दा बीच बाटोबाटै फर्किएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवै गाउँमा हेलिकप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी शुरु गर्ने तयारी गरे पनि मौसम खराबी हुँदा हेलिकप्टर ती गाउँमा जान नसकेको हो ।

शुक्रबार सदरमुकाम खलङ्गामा पुगेको हेलिकप्टरले शनिबार मध्याह्न हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी गरेको थियो। सदरमुकाम खलङ्गाबाट मध्याह्न हिँडेको हेलिकप्टर थि भीरभन्दा माथि जान नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर थिभन्दा माथि जान नसकेपछि सदरमुकाम खलङ्गा फर्किएको छ । पहिलो दिन गाउँपालिका अध्यक्ष बुढाथोकी, नेपाली काँग्रेस पार्टी सभापति ललितसिंह बोहरा, वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहरा र गाउँ कार्यपालिका सदस्य वासु ऐतवाल लिएर हेलिकप्टर खलङ्गाबाट उडेको थियो ।

छाङ्गरु र तिङ्करमा एकरएक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले जनाउनुभयो । प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि ती गाउँमा खाद्यान्न ढुवानी शुरु गरिएको उहाँको भनाइ छ ।

चामल ढुवानीको प्रतिस्पर्धामा तीन वटा हवाई कम्पनीले सहभागिता जनाएका थिए । सबैभन्दा न्यून प्रतिकिलोग्राम दुई सय ४९ रुपैयाँ ९८ पैसा भाडा कबोल गर्ने माउन्टेन हेलिकप्टर कम्पनीसँग चामल ढुवानीको सम्झौता गरिएको थियो । सोहीअनुसार सदरमुकाम खलङ्गामा दुई वटा ट्रकमार्फत खाद्यान्न पुर्‍याइएको छ । खलङ्गाबाट हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न पुर्‍याउन लागिएको हो ।

खाद्य संस्थानले भने छाङ्गरु र तिङ्करका स्थानीयलाई प्रतिकिलो रु ५१ का दरले चामल उपलब्ध गराउने जनाएको छ । संस्थानले सुर्खेतबाट दार्चुला सदरमुकामसम्म सडकमार्फत खाद्यान्न पुर्‍याएको छ । हेलिकप्टरले एक पटकमा पाँच क्विन्टल खाद्यान्न ढुवानी गर्नसक्ने जनाएको छ।

नरेन्द्रसिंह कार्की/रासस

Previous articleसीमा क्षेत्रबाट दुई सय ३५ बोतल कोरेक्स बरामद
Next articleसीमा नजिकका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here