
कोहलपुर । कोहलपुर प्रहरीले मानसिक संतुलन गुमाएकी र मंगलबारबाट हराएकी महिला फेला पारी परिवारको जिम्मा लगाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँके राप्तीसोनारी गाउँपालिका वडा नं २ स्थित माथेबास बस्ने २५ वर्षीया भिमा खत्रीलाई फेला पारी परिवारको जिम्मा लगाएको हो ।
माथेवासका गोकुला खत्रीकी छोरी भिमा मंगलबार साँझ ५ बजेदेखि हराएकी थिइन । गाउँलेका अनुसार मानसिक सन्तुलन ठिक नभएकी भिमालाई अपरिचित व्यक्तिले मोटरसाईकलमा बसालेर लगेका थिए । त्यसपश्चात मंगलबार राती पौने ११ बजे कोहलपुर प्रहरीलाई जानकारी भएपछि उनको खोजी शुरु गरेको थियो ।
प्रहरीले खोजीतलासकै क्रममा इलाका प्रहरी चौकी अगैयाको सिसिटिभी फुटेज चेक गर्दा उनलाई मंगलबार साँझ सवा पाँच बजे भिमा घाँससहित मोटरसाईकलमा चढेको र उक्त मोटरसाईकल अगैयादेखि पुर्वतर्फ गएको देखिएपछि प्रहरीले तत्काल खोजी तिब्र बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक (डिएसपी) रबिन्द्र खनालले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय एवं इलाका प्रहरीको टोलीले खोजी गर्ने क्रममा भिमालाई सकुसल फेला पार्न सफल भएको हो । प्रहरीले उनलाई बुधबार बिहान ११ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं–१ बाट सकुशल उद्धार गरेको (डिएसपी) खनालले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई बुधबार नै परिवारको जिम्मा लगाइएको हो ।





