पूर्वमा जन्म, पश्चिममा कर्म

सुस्मा राई

बर्दिया मलाई सधैँ बिशेष लाग्ने गर्छ । भिन्न समुदायका ग्रामीण वस्ती, हरीयाली, कृषि फाँट, जताततैका खोलानाला र नदी आदि लोभलाग्दो दृश्य अवलोकनले बर्दिया सुन्दर र त्यहाँ गरिएका अन्तरक्रियाले बर्दियाली इमान्दार र मनकारी लाग्छ । नेपालकै लामो कोठियाघाट पुल, कृष्णसार, बर्दिया निकुञ्ज, चिसापानीको पुल, बढैयाताल मनोरम छन् ।

बर्दियाको पल्लो छेऊ, वल्लो छेऊ, वीचबाट सबै ठाउँ पुग्दा, बर्सेनी थुप्रै चोटी ओहोर दोहोर गर्दा बर्दियाको अनेक रुप देख्न पाएँ । हर्ष, पीडा, हरियाली, हिलाम्मे र धुलाम्मे सडक, भेल वाढी अनि चुनौति सबैसँग आमने सामने हुन पाएँ । बर्दियाबाट धेरै कुरा सिक्ने साथै अनुभूति गर्ने अवसर पाएँ । त्यसैले भन्न मन लाग्छ ।

कति उर्बर माटो बाह्रै मास हरियाली ।

अति इमान्दार र मनकारी बर्दियाली ।।

बिगत पाँच बर्षमा बाँके र बर्दियालाई कार्यक्षेत्र बनाएर काम गर्दा साबिकका मध्यपश्चिम र सुदूरपश्चिमका धेरै जिल्ला घुम्ने मौका मिल्यो । अहिलेसम्मको जीवन यात्रामा मेचिदेखि महाकालीसम्मको यात्रा पनि पूरा गरियो । त्यहाँको वातावरण, भूगोल, रहन सहन र समाज बुझ्ने अवसर मिल्यो ।

कामकै सिलसिलामा बर्दियाका सबै ठाउँ तथा अधिकांश विद्यालय पुग्ने अवसर पनि मिल्यो । केहि योगदान, केहि सम्बन्ध निर्माण, केहि सिकाइ र केहि साथ सहयोग लिने दिने काम गरियो, गरिदैछ । विस्तारै मलाई कर्मक्षेत्र सँगको घुलमिलले अपनत्वको आभाष दिन थालेको महसुस हुन्छ । अनि मनमा यस्तो सुसेलिन्छ ।

पश्चिमको भूगोलसँग भिजेर हो कि ?

रहन सहन, संस्कारसँग मिलेर पो हो कि ?

श्रम र पसिना बढि बगेर हो कि ?

सहयोगी साथ हातहरू भेटिएर पो हो कि ?

रमाइलो लाग्दैछ पश्चिम नै मलाई ।

विरानो लाग्दैछ पूर्व मलाई ।।

बर्दियाको उर्वरताको वर्णन जति गरे पनि कमै हुन्छ । नेपालगन्जबाट बर्दिया जाँदा सिमानामा रहेको मानखोला तर्ने वित्तिकै सितलता अनि हरियाली सुरु हुन्छ । ऋतु अनुसारको खेतीपाती र हरियाली वर्षभरी नै देख्दा मुलुककै भकारी भनेर सुनेको सहि हो भन्ने लाग्छ । मनै लोभ्याउने दृश्य देखिन्छ बबइ पुलको आसपासदेखि राजापुर बजारसम्मै ।

आँखाले भ्याइन्जेल देखिने हरियाली र सुनौलो धानखेतीको दृश्यले निकै हर्षित तुल्याउँछ । हिउँदमा हरियाली, सुनौलो तोरी बारी र गहुँ बारीको दृश्यले पनि उस्तै अनुभूति गराउँछ । ठाउँ ठाउँमा व्यक्तिगत जग्गामा गरिएको वृक्षारोपणले पनि निकै मन लोभ्याउँछ ।

बर्दियालीहरू निकै परिश्रमी, मिलनसार, इमान्दार र मनकारी पाएँ । पाहुनालाई भगवान जस्तै मान्ने र सम्मान गर्ने संस्कार रहेछ। घरमा वा विद्यालय भ्रमणमा आउने पाहुनालाई समय निकालेर भेट गर्ने, सत्कार गर्ने र कुराकानी गर्ने राम्रो संस्कार पाएँ ।

थारुहरुको मौलिक संस्कृति गजव छ । धेरै थारु समुदायका मानिसलाई नेपाली भाषा बोल्न आउँदैन । थारू जातीको बाहुल्यता रहेको गाउँ वस्तीहरू धेरै छन् । विद्यालयमा पनि थारू समुदायका विद्यार्थीकै बाहुल्यता छ ।

भाषाको समस्याले आफ्ना कुराहरू खुलेर राख्न सक्दैनन् विद्यार्थी र अभिभावकहरू । तर, प्रफुल्ल चेहराले भने बताइरहेको हुन्छ उनीहरूको उत्सुकता र उत्साह । जब शिक्षक वा पाहुनाले थारू भाषामा कुरा गर्न थाल्छन्, अनि चुपचाप बसिरहेका सबैले दिल खोलेर हाँस्न थाल्छन् र कुरा गर्न थाल्छन् ।

विद्यालय तथा घरभेटको क्रममा विद्यार्थी र अभिभावकसँग कुराकानी गर्न दोभाषे चाहिने निकै ठाउँमा । यति लामो समयमा पनि राम राम सङघरिया, जस्ता दुई चार वटा शब्द बाहेक थारू भाषा सिक्न सकिन । म थारू नजान्ने, बर्दियाका थारु वस्तीतिर नेपाली नजान्ने, त्यसैले अनुभव अनुभूतिहरू साटेर अझ धेरै सामिप्यता बढाउन नसकिदा चाँहि थकथक लागि रहन्छ ।

घरमा कोहि पाहुना पुग्ने बितिकै बोलेर या नबोलेरै पाहुनालाई बसाउने अनि पानी दिने चलन रहेछ । यो चलन पृथक तर निकै राम्रो लाग्यो । पूर्वमा जहाँ म जन्मिएँ, हुर्किएँ, शिक्षा लिएँ, यो चलन चल्तीमा थिएन र छैन ।

सामन्ती प्रथा, कमलरी प्रथा र द्वन्द्वकालको प्रभावबारे बुझ्न र महशुस गर्न बर्दियामैं पाएँ । सामन्ती प्रथाबारे किताबमा मात्र पढेकी थिएँ विद्यार्थीकालमा । यी प्रथाहरू कुन क्षेत्रमा थिए भन्ने त्यति हेक्का र अनुभूति थिएन । म जहाँ हुर्किए, त्यहाँ अनुभव हुने खालको त्यस्ता प्रथाहरू थिएनन् र द्वन्द्वको प्रभाव पनि कमै थियो ।

द्वन्द्वकालमा राजापुर क्षेत्रमा किन त्यति धेरै मान्छे वेपत्ता पारिए ? मारिए ? भन्ने प्रसंगमा स्थानीय भन्छन् (पहिले पहिले कति शोषण हुन्थ्यो सर्वसाधारणमाथि । यतिसम्म कि एउटा गाउँको थारु समुदायको बिहे गरेको दुलहीले पहिलो रात राजा (स्थानीय जमिन्दार) संग विताउनु पर्दथ्यो । त्यसपछि मात्र श्रीमानले भेट्न पाउँथे ।

द्वन्द्वकालमा आर्मीले गाउँबाट मान्छे समात्दै मानपुरको क्याम्पमा लग्थे तर एउटै फर्किएनन्, कहाँ लगे ? के गरे ? पत्तै भएन । विद्रोही पक्षले पनि राजाहरूको घर एउटै बाँकी राखेनन्, सबै बम पड्काएर ध्वस्त पारे । आर्मी र विद्रोही दुबै पक्षबाट यहाँको वासिन्दालाई सास्ती दिइयो ।

सामन्ती प्रथा र द्वन्द्वको प्रभाव कहिले अनुभव र अनुभूति नगरेको म राजापुर क्षेत्र पुगेपछि मात्र थोरै भएपनि थाहा पाएँ । त्यसैगरि कमलहरीको कथा र पीडा कमलहरीबाटै सुन्दा निकै दर्दनाक लाग्यो । मानवता, मानव अधिकार र बालअधिकार त कता हो कता मार्क्सबादले भने जस्तै जस्को हातमा अर्थतन्त्र हुन्छ, त्यो समाजको लागि नियम र निर्णय उस्कै अनुकूल गर्ने गर्दछ ।

जस्ले यति शोषण गर्यो कि कहिले उठ्न नसक्ने गरि गरिवीको चपेटामा पार्‍यो । कमलहरी प्रथा पनि सामन्ती प्रथाकै धरातलमै जन्मियो र हुर्कियो । चरम गरिबी यसैको परिणाम मान्न सकिन्छ ।

अहिले धेरै प्रथाहरूको अन्त्य भैसकेको छ । तर, अझै पनि सामन्ती प्रथाको अवशेषको रूपमा बडघर प्रथा भने थारु समुदायमा प्रचलनमै रहेको पाइन्छ । बडघर भन्नाले समुदायको अगुवा जस्ले समुदायको नेतृत्व गर्दछ । समुदायमा न्याय सम्पादन गर्नु मुख्य जिम्मेवारी हुन्छ । जस्लाई प्रथाजन्य कानूनको स्रोतको रुपमा पनि लिइन्छ । तर, थारु समुदायमा वडघर प्रथा सबैले मानेको र संरक्षणमा चासो राखेको पाएँ ।

प्राकृतिक स्रोत, सम्पदा र सुन्दरताले सम्पन्न बर्दियामा विकासले भने खासै गति नलिएको आभास हुन्छ । सदरमुकाममा समेत चिल्ला सडक, व्यवस्थित बजार र वस्तीहरू खास भेटिदैन । हरेक सेवाको लागि जस्तै बजार, स्वास्थ्य आदि नेपालगन्जसँग परनिर्भर छन् बर्दियावासी ।

हुलाकी सडकले निकै लामो समय पछि मात्र पूर्णता पाएको छ । त्यो सडक नबन्दा बर्दियाबासीले हिलो र धूलोको सास्ती वर्षौसम्म बेस्सरी बेहोर्नु पर्‍यो ।

हरेक वर्ष जस्तै बर्दियालीको दुखको कारण बन्ने गर्छ बबइ नदी । जुनसुकै बेला बजार र वस्तीमा बाढी पस्न सक्ने त्रासले बर्दियाबासी कैयौँ रात आनन्दले निदाउन पनि सक्दैनन् । अत्याधिक वर्षा हुँदा बर्दियाका धेरै वस्तीहरू डुवानमा पर्छन् ।

यस्तो अवस्था देख्दा यात्राभरी मन पोलेर सोचमग्न हुन्थेँ । जहाँ डुवान र बाढीको जोखिम छ, त्यहाँ किन जमिनको सतह मैं त्यो पनि माटोको घर बनाइन्छ ? पहाडमा भने त्यस्तो जोखिम छैन तर अग्लो जग राखेर घर बनाइन्छ । त्यो जग त तराइँमा पो चाहिएको थियो, किन तराइँमा होचो जग बनाइन्छ ?

बर्दियालीको अर्को दुखको कारण छ निकुन्जका जनावर । कहिले हात्ती, कहिले बाघको आक्रमणबाट बर्सेनी मानिसले ज्यान गुमाउँछन् । बर्दियाको समुदाय र भूगोल दुबै ओझेलमा परेको महसुस हुन्छ । प्रायजसो लगानी गर्न र केही कदम चाल्न सक्नेले बर्दियामा लगानी गर्दैनन् ।

नेपालगन्जमा गर्छन् । त्यसैले पनि ओझेलमा परेको होकि भन्ने भान हुन्छ । जवकी नेपालका ७६ रै जिल्लाका मानिसको खेत बर्दियामा छ भन्ने सुनिन्छ र बर्दियामा देशभरबाट बसाईँ सरी आएका परिवार पनि बस्छन् ।

कितावमा पढेका कुराको अभ्यास बर्दियामा बुझ्न र देख्न पाएँ । थुप्रै सिकाइ र अनुभूतिहरू बटुल्न सकेँ । जीवन र जगत बुझ्न थप अवसर मिल्यो । यसैले बर्दियाको उर्वरता, प्राकृतिक सम्पन्नता, रहन सहन जहिले विशेष लाग्छ । खास लाग्छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments