
नेपालगन्ज । फुल्टेक्राका युवाहरुको अगुवाईमा बृहत विकासका लागि पाईला चालिएको छ । शनिबार पर्यटकीय स्थल स्थानीय हडियाबाबा आश्रममा भएको भेलामार्फत फुल्टेक्राको चौतर्फी विकासका लागि समिति गठन गरिएको छ ।
भेलामा नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ फुल्टेक्रा, रामनगर, नयाँबस्ती लगायतको स्थानमा रहेका सम्पूर्ण सानो ठूलो मठ मन्दिरको बृहत विकासका लागि कार्य थालनी गर्ने, स्थानीय हडियाबाबा आश्रमलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, मठ मन्दिरहरुको सरसफाईदेखि भईपरि आउने समस्या समाधानका लागि अघि बढ्ने विषयमा छलफल केन्द्रीत रहेको भेलामा सहभागी बृजेश त्रिपाठीले जानकारी गराउनुभयो ।
फुल्टेक्रास्थित आँखा अस्पताल, हडियाबाबा आश्रम, फुल्टेक्रा ताल, फुल्टेक्रा माध्यमिक विद्यालयलाई अन्य स्थानमा कसरी चिनाउन सकिन्छ त्यसका लागि सम्बन्धित पक्षहरुसँग छलफलको माध्यमबाट योजना बनाउने लगायत विषयमा छलफल गरिएको छलफलमा सहभागी मदनराज शर्माले बताउनुभयो ।
वडाअध्यक्ष समिरप्रताप सिंहले फुल्टेक्राको बृहत विकासका लागि वडामार्फत वा आफ्नो व्यक्तिगत लगानीमा के गर्न सकिन्छ म सदैव तयार रहेको बताउनुभयो । त्यसैगरी, स्थानीय समाजसेवी एवं शिव पार्वती मन्दिर संरक्षक माधवराम बर्माले फुल्टेक्राको बृहत विकासका लागि आफू अहोरात्र खटिन तयार रहेको बताउनुभयो ।
उक्त भेलाबाट मदनराज शर्माको संयोजकत्वमा एक एक समिति निर्माण गरिएको हो । जसको सहसंयोजकमा दिलिप रेग्मी, सचिवमा विनयराज गौतम, कोषाध्यक्षमा अनुप शर्मालाई चयन गरिएको छ ।
यसैगरी, सदस्यहरुमा विक्रान्त श्रीवास्तव, अमितराज रेग्मी, हितेश भारती, रविन्द्र थापा, चन्द्रेश्वरराज त्रिपाठी, अर्जुन भट्टराई, अरविन्दकुमार देव, शरण शर्मालाई चयन गरिएको छ । सरसफाई कार्यको लागि आवश्यक सामग्री खरिद गर्न माधवराम बर्मा, चन्द्रेश्वरराज त्रिपाठी, अर्जुन भट्टराईले आर्थिक सहयोग गरेका छन् भने स्थानीय युवा सुरेश न्यौपाने शर्मालाई भेलाको आयोजना गरेकोप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।





