
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । उपाधिसँगै उहाँले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गर्नुभएको छ । किरण, टीम प्रमोदबाट फाइनलमा प्रवेश गर्नुभएको थियो ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट हुनुभयो ।
तीनै जना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाउनुभयो । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एस एम एस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले भोट गरेका थिए । शनिवारको एपिसोडमा चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिनुभयो । किरणले भन्नुभयो–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।





