गेरूवाका कार्यकारी निर्देशकको दोस्रो कृति बजारमा

नेपालगन्ज । गेरूवा ग्रामीण जागरण संघ बर्दियाका कार्यकारी निर्देशक एंव पुर्व रेडक्रसकर्मी हरिप्रसाद सुवेदीको दोस्रो कृति ‘खेलबाट सिकाइ’को विमोचन गरिएको छ ।

नेपाल ट्रेनिङ एण्ड रिसर्च प्रालिले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख हरि तिमिल्सैना, रेडक्रस बर्दियाका पूर्वसभापति महेश गौतमले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका रेडक्रसकर्मी शर्माले लेखक सुवेदीले २ दशक लामो समय रेडक्रसमा काम गर्दाका अनुभवका आधारमा सबैका लागि उपयोगी पुस्तक प्रकाशित गरेको भन्दै प्रशंशा गर्नुभयो । पूर्व प्राज्ञ रेग्मीले तालिम सञ्चालन गर्नेहरुका लागि पुस्तक हाते पुस्तकको रुपमा रहेको बताउनुभयो ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार तिमिल्सैनाले औपचारिक शिक्षा र तालिम सञ्चालन गर्ने वा सिकारुदेखि सिकाउने सबै व्यक्तिका लागि पुस्तक उपयोगी भएको बताउनुभएको थियो ।

कार्यक्रममा लेखक सुवेदीले आफूले २०५३ सालमा युवा रेडक्रसबाट काम सुरु गर्दादेखि तालिम लिँदा र दिँदा प्रयोग गरिएका सिकाइ सीपलाई खेलका माध्यममा पुस्तकमा अभिलेखीकरण गरेको बताउनुभयो ।

१७० पृष्ठको पुस्तकमा २८ वटा विभिन्न विषयका एक सय ११ वटा खेल समेटिएका छन् । खेल खेल्ने विधि र तरिका पनि पुस्तकमा सिकाइएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दियाका पूर्वसभापति महेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षाविद् किरण आचार्य, पूर्ण तारा फाउण्डेसनका अध्यक्ष ताराकुमारी रोकाय र नेपाल ट्रेनिङ एण्ड रिसर्च प्रालिका सदस्य रविन्द्र रेग्मीले लेखकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा फ्रेन्डस् क्लबका अध्यक्ष समेत रहेका लेखक सुवेदीलाई क्लबले सम्मान गरेको थियो । क्लबका सचिव रविन्द्र रेग्मी लगायतको टिमले संयुक्त रुपमा दोसल्ला ओढाएर र ढाकाको टोपी लगाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा लेखक सुवेदीले पुस्तक बिक्रीबाट आएको एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर शोध अनुसन्धानमा क्रियाशील व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गरिने घोषणा गर्नुभएको छ । कार्यक्रम सन्चालन गिता अर्यालले गर्नु भएको थियो । लेखक सुवेदी हाल गेरूवामा कार्यकारी निर्देशक हुनुहुन्छ भने उहाँले दुई दशक रेडक्रसमा बिताउनुभएकाे छ ।

Previous articleबिद्यालयको जग्गामा भुमाफिया, जबरजस्ती बाटो निर्माण !
Next articleशिक्षकहरुका लागि तीन दिने स्टीम एजुकेशन तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here