
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ पनि बाल विवाह मुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।
पछिल्लो समय जिल्लाका बिभिन्न पालिकाहरुलाई बाल विवाह मुक्त बनाउने अभियानका क्रममा बुधबार जानकी गाउँपालिकाको वडा नं ३ लाई पनि घोषणा गरिएको हो । घोषणा समारोहमा बिभिन्न बिद्यालयका बालबालिकाहरुले नृत्यु लगायतका कला प्रस्तुत गरेका थिए ।
बुधबार जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, वडा नं ३ का वडा अध्यक्ष बिन्देश्वरी बर्मा, सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) का अध्यक्ष शिवलाल पाण्डे, राईजिङ्ग आईडल्स बाँकेका राजन बर्मा लगायतको उपस्थितिमा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेद्धारा जिल्लामा संचालित बाल विवाह रोकथाम परियोजनाको सहयोगमा वडालाई घोषणा गरिएको परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।
योसहित जानकी गाउँपालिकाको आठ वटा वडामध्ये तीन वटा वडा बाल विवाह मुक्त घोषणा भएका छन् । यसअघि केही दिन अगाडी नै जानकीको वडा नं १ र २ लाई वाल विवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।






