
खजुरा । खजुरा गाउँपालिकामा मानव वेचविखन नियन्त्रणका लागि भएका विभिन्न गतिविधि तथा कार्यहरु सार्वजनिक गर्दै आगामी दिनमा यसलाई प्रभावकारी बनाउन सुझाव लिइएको छ ।
शुक्रबार खजुरामा अयोजित कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले खजुराले पालिकास्तरीय र वडास्तरीय समिति निर्माण गरिएको, कार्यविधि निर्माण भएर पास भई कार्यान्वयनमा रहेको, कार्ययोजना निर्माण भई कार्यान्वयनमा रहेकोे, दिवस तथा उत्सवहरुमा अभियान संचालन गर्ने गरिएको तथ्यांक संकलन पीडित तथा प्रभावितहरुको अभिलेखिकरण, पालिकामा भएका मनोरञ्जन क्षेत्रका तथ्यांकका लागि शुरुमा सूचिकृतका लागि पहल, बैदेशिक रोजगारमा जाने युवालाई २ दिने तालिम दिइएको जानकारी दिनुभयो ।
उहाँले दीर्घकालीनरुपमा नियन्त्रणका लागि सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा जोड दिँदै विभिन्न शाखाहरुले सीपमुलक तालिममार्फत रोजगारी सिर्जना गर्दै आएको बताउनुभयो ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले मानव वेचविखन नियन्त्रणका लागि नीतिगत रुपमै आवधिक र वार्षिक योजना तय गरेर जानु पर्नेमा जोड दिनुभयो । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव वेचविखनविरुद्ध सरोकारवाला निकाय समन्वय गरेर जानु पर्ने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी नायव निरीक्षक पुष्करराज जोशीले २ वर्षको अवधीमा खजुराका २ जना किशोरीको उद्दार गरिएको जानकारी दिँदै बेचविखन ठूलो रोग भएकाले निवारणमा मानवीय धर्म सोचेर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य योगमाया खनाल, विज्ञ समूहका सदस्य भक्तबहादुर केसी, पूर्णचन्द्र उपाध्याय, वडा नं–३ का महिला सदस्य देउमाया थापा, किशोरी क्लव संजाल खजुराकी अध्यक्ष चेतना क्षेत्री, बाल क्लव संजाल खजुराकी अध्यक्ष मञ्जु थापा लगायतले नीति बनाएर दीर्घकालीनरुपमा समाधानका उपाय खोजेर अगाडि बढ्न विभिन्न सुझाव पेश गर्नुभयो ।
मानव वेचविखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको समन्वय सहकार्यमा युएुएड, विनरक इन्टरनेशनल, माइती नेपाल र युकेएडको सहयोगमा जिल्लामा संचालित हाम्रो सम्मान परियोजनाको आयोजनामा भएको कार्यक्रममा माइती नेपालगञ्जका नेपालगन्जका संयोजक केशव कोइराला र विनरकी फिल्ड संयोजक कमला पन्तले खजुराले मानव वेचविखन नियन्त्रणमा गरिएका प्रयासमा आफुहरुको सहकार्य रहने जानकारी दिनुभयो ।





