खजुरा गाउँपालिका वडा नं.१ वालविवाह मुक्त वडा घोषणा

नेपालगन्ज । खजुरा गाउँपालिका वडा नं. १ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतवार एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात खजुरा १ मा १६ दशमलव १२ प्रतिशत वालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा तथा प्रतिवद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गर्नुभयो ।

हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताउनुभयो ।

उहाँले खजुरालाई नमूना गाउँपालिका बनाउने अभियान अन्तरगत नमूनाको एउटा सूचक वाल विवाहमुक्त पालिका हुनु पर्ने भएकाले वडापछि पालिकालाई घोषणा गर्ने अभियानमा रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिनुभयो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने बताउनुभयो ।

प्लान नेपाल, स्याक नेपाल, बाल क्लव संजाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताउनुभयो ।

खजुरा गाउँपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बाल विवाह अन्त्य अभियानमा लागेका पत्रकार शंकर प्रसाद खनालले बालविवाह मुक्त वडा बनाउन गरिएका प्रयास तथा अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गनुृभयो भने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बाल विवाहमुक्त अभियानमा निरन्तर सहकार्य हुने बताउँदै खजुराबाट अभियानको शुरुवता भएकोमा प्रशंसा गर्नुभयो ।

यसअघि वडा नं. १ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो । घोषणासभा कार्यक्रम संचालन शिक्षक सुन्दर गुरुङ र वडा नं. १ का कर्मचारी मनमाया रानाले गर्नुभएको थियो ।

कार्यक्रममा वालविवाह मुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । केही समय पहिला खजुरा गाउँपालिका वडा नं. ३ लाई वाल विवाहमुक्त वडा घोषणा गरी सकिएको छ ।

Previous articleप्रहरी र युवाद्धारा बेतहनी क्षेत्रमा पहिलो पटक सरसफाई
Next articleटोललाई व्यवस्थित बनाउन नेपालगञ्ज १८ मा टोल सुधार समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here