नेपालगन्ज । बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाईएको छ ।
द्धन्द्ध पीडित महिला राष्ट्रिय सन्जाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेतीले जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाइएको हो ।
आज ३० अगष्ट अर्थात बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११ औं अन्तराष्ट्रिय दिवस बाँकेमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।आज भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत तुुलसीपुुर इजलास नेपालगन्जका प्रमुख न्यायाधिश माननीय डा. रत्न बहादुर बागचनले बेपत्ता पारिएकालाई तुरुन्त सार्वजनिक गर्नु पर्ने र पीडितहरुको अनुहारमा हाँसो ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले न्यायको सुनिश्चता गर्न माग समेत गरेका छन् । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झना गर्ने र उनीहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ बेपत्ता पारिएका पीडितहरुको ११ औं अन्तराष्ट्रिय दिवस मनाईएको द्धन्द्ध पीडित महिला राष्ट्रिय सन्जाल, लुम्बिनी प्रदेशका संयोजक चन्द्रकला उप्रेतीले बताउनुभयो ।सो अन्तरक्रियमा नेपाल वार एशोसियशन, लुम्बिनी प्रदेशका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, एडभोकेसी फोरमका बशन्त गौतम, ईन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, न्यायका लागि द्धन्द्ध पीडित समाजका देविसरा विकको सहभागिता रहेको थियो ।
आजै साझ दिप प्रज्जवल कार्यक्रमको आयोजना गरिदै छ । दिवसको अवशरमा बाँकेमा कृयाशिल संघसंस्था, मानवअधिकारकर्मी लगायतले पीडितलाई न्यायको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
कार्यक्रमको सहजीरण नेपालगन्ज वार एसोशियसनका सचिव पदम पाण्डेले गर्नुभएको थियो । यसैबीच साेमबार साँझ धम्बाेझी चाेकमा दिप प्रज्वलन गरिएको छ ।