
रमेशकुमार यादव
नेपालगञ्ज । नेपालगञ्जमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय दुर्गन्धित बनेको छ । जिल्लाका बिभिन्न ठाउँबाट सेवा लिन आउने र सबैभन्दा सेवाग्राही पुग्ने कार्यालयमध्येको यो कार्यालय दुर्गन्धले भरिएको देखिएको छ ।
प्राय सबै कार्यालय सफा सुग्घर देखिनुपर्ने हो र कतिपय कार्यालय त्यसो भएको पनि पाईन्छ तर भूमिसुधार तथा मालपोत कार्यालय भने जहिले नि दुर्गन्धित रहेको हुन्छ ।
बुधबार बिहान कार्यालयमा संवाददाता पुग्दा सेवाग्राहीको घुँइचो निकै थियो । कार्यालयभित्रको फोहर देखेर सेवाग्राही घिन मानिरहेका थिए ।
सबैभन्दा बढी फोहर शौचालय क्षेत्रमा थियो । जहाँ कति दिनदेखि फोहर नै सफा नगरे जस्तो अनुभूति हुन्थ्यो । शौचालयको हात धुने धारामा पानी आउँदैन । गुट्खा खाएर थुक्ने ठाउँ भएको छ । प्यान रातै छन् । गुट्खाका खोस्टाहरु सर्वत्र भेटिन्छ ।
सेवाग्राही व्यङ्ग्य गर्दै थिए, ‘धेरै कर उठाउने कार्यालयमा यति धेरै फोहर हुन्छ । सफाइ गर्ने बजेट हुँदैन कि ?’ कार्यालयमा कर नै धेरै संकलन हुन्छ तर आफ्नो कार्यालयलाई व्यवस्थित बनाउन सकेको छैन ।





