बाँके बैजनाथका स्वास्थ्य संस्थाहरुको क्षमता विश्लेषण

बैजनाथ । बैजनाथ गाउँपालिकाको ६ वटा स्वास्थ्य संस्थाहरुको क्षमता पहिचान (लेखाजोखा) गरिएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले तयार गरेको वास फिट टुल प्रयोग गरेर स्वास्थ्य संस्थाको क्षमता लेखाजोखा र विश्लेषण गरिएको हो ।

कोहलपुर नगरपालिकाको समन्वय, वास एस डि जिको साझेदारीमा र गेरुवा ग्रामीण जागरण संघद्वारा संचालित वास इन हेल्थ (स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धन) परियोजनामार्फत स्वास्थ्य संस्थामा पानी, सरसफाइ, स्वच्छता र व्यवस्थापनका मुख्य ४ क्षेत्रका जम्मा ६४ वटा सूचकमा आधारमा क्षमता लेखाजोखा गरिएको हो ।

यसरी लेखाजोखा गरिएका स्वास्थ्य संस्थाहरुमा चिसापानी स्वास्थ्य चौकी बैजनाथ–१, चिसापानी, आधारभूत स्वास्थ्य सेवा केन्द्र बैजनाथ–२, डिगिया, नौबस्ता स्वास्थ्य चौकी बैजनाथ–३, नौबस्ता, बनकटुवा प्राथमिक स्वास्थ्य सेवा केन्द्र बैजनाथ–५, बनकटुवा, आधारभूत स्वास्थ्य सेवा केन्द बैजनाथ–७, पेडारी र टिटिहिरिया स्वास्थ्य चौकी, बैजनाथ–८, टिटिहिरिया रहेका छन् ।

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र वास फिट समितिका सदस्यहरुले सहभागितामूलक छलफल गरेर हरेक मापदण्ड पुरा गरेको सुचकलाई तिन तारा, आंशिक रुपमा मापदण्ड पुरा गरेकोे सुचकलाई दुई तारा र मापदण्ड पुरा नगरेको सुचकलाई एक तारा दिएका थिए ।

स्वास्थ्य संस्थाको अवस्था निकै नाजुक रहेको प्रारम्भिक तहको जानकारी आएको र लेखाजोखाले के ? के ? मा सुधार गर्ने स्पष्ट गरेको गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिनुभयो ।

उहाँले लेखाजोखा गरिएका स्वास्थ्य संस्थाहरुको विद्यमान अवस्थाका बारे सम्बन्धित स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिहरु, सम्बन्धित वडा कार्यालय र गाउँपालिकासँग छिटै छलफल गरिने र सुधारका लागि पहल थालिने बताउनुभयो ।

Previous articleनेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने
Next articleबाँकेको खजुराले दियो पठन पाठन संचालनको अनुमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here