
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा यही भाद्र २१ गतेदेखि शैक्षिक संस्था संचालन हुने भएका छन् । जिल्लाकै पहिलो पालिका रुपमा बिद्यालय खोल्न अनुमति दिएको हो ।
खजुरा गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले बिहीबार एक सूचना जारी गर्दै भाद्र २१ गतेदेखि सम्पूर्ण शैक्षिक संस्थाहरु संचालन गर्ने अनुमति दिएको छ ।
कोभिड १९ को जोखिम बिश्लेषणका आधारमा खजुरा गाउँपालिकामा बिद्यालय सञ्चालन गर्न सकिने भएकोले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको आकस्मिक शिक्षा कार्ययोजना र समायोजन पाठ्यक्रम ढाँचा २०७७ बमोजिम अनिवार्य स्वास्थ्य मापदण्डको पालन गर्दै भौतिक दुरी कायम गरी शैक्षिक सत्र २०७८ यही भाद २१ गतेदेखि संचालन गरी पठनपाठन सूचारु गर्न अनुमित दिइएको सूचनामा उल्लेख छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेको बैठकले बिद्यालय खोल्न सक्ने गरेको निर्णयका आधारमा खजुराका सम्पूर्ण शैक्षिक संस्था खोल्न अनुमित दिइएको बताउनुभयो ।
उहाँले शैक्षिक संस्थाहरुले पठनपाठनको अनुमति पाएसंगै बिद्यालयलाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । बिद्यालयको कक्षाका आधारमा सिफ्ट अनुसार संचालन गरिने उहाँले जानकारी दिनुभयो ।
यस्तै बिद्यालय संचालन पूर्व बिद्यालय संचालनको पूर्व तयारीका बारेमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफसंग छलफल र अन्तरक्रिया गरी बिद्यालय संचालन, व्यवस्थापन, रेखदेख र निरीक्षण गर्नका लागि कार्ययोजना निर्माण गरी १८ देखि २० गतेभित्र सम्पूर्ण शैक्षिक संस्थाहरुले बिद्यालयको हाता र कक्षा कोठा सरसफाई गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको बैठकले शैक्षिक संस्थाहरु खोल्नका लागि स्थानीय तहको सिफारिसका आधारमा बिद्यालय संचालन गर्न सकिने निर्णय गरेको छ ।





