
नेपालगञ्ज । पछिल्लो समय दुर्गन्धित एवं फोहर कार्यालयको परिचय बनाएको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा देखिएको फोहर व्यवस्थापन गरिएको छ ।
फोहर अवस्थामा रहेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेको शौचालयको शनिबार नेपाल लेखापढी कानुन व्यवसाई संघ बाँकेको प्रत्यक्ष निगरानी र समन्वयमा पूर्ण रूपमा सफा गरिएको हो ।
व्यवसायीले कार्यालयलाई फोहर बनाउने कार्य सेवाग्राहीको भएको भन्दै कार्यालयमा रहेको शौचालय सुविधाका लागि प्रयोग गर्दा पान गुट्खा सेनेटरी प्याड जस्ता फोहोर बस्तुहरु जथाभावी थुक्ने र फाल्ने कार्यले नै समग्र कार्यालय नै फोहर बन्दै गएकोले सरसफाई गरिएको बताएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख हरि कृष्ण सुबेदीको अनुरोधमा लेखापढी कानून व्यवसायी संघका अध्यक्ष जगदम्बा पाठक तथा उपाअध्यक्ष दिल बहादुर थापाको सहयोगमा फोहोर भएका तथा देखिएका स्थानहरुको सरसफाई गरिएको छ ।
फोहर स्थानहरुको सरसफाई कार्यसंगै आगामी दिनमा कार्यालय परिसरलाई सफा बनाई राख्नका लागि कार्यालय समयमा सेवा लिन आउँदा पान, गुटखा सेवन गरी प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध र जरिवाना समेत कार्यालयले गर्ने भएको छ ।
लेखापढी कानून व्यवसायी संघका अध्यक्ष पाठकका अनुसार अबदेखि सचेत भई कार्यालय प्रवेशको व्यवस्था र नियन्त्रण गरिने कार्यालय प्रमुखबीच छलफल भएको छ ।
केही दिन अघि मात्रै हाम्रा संवाददाता कार्यालयमा पुग्दा कार्यालयको शौचालय फोहरले भरिएर दुर्गन्धित बनेको र कार्यालय परिसरमा फोहर जम्मा भएको भन्दै दुर्गन्धितको परिचय बन्दै मालपोत कार्यालय शिर्षकमा समाचार प्रकाशन गरिएको थियो ।





