
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक(कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
गाउँपालिकाका कार्यबहाक अध्यक्ष कार्यक्रमका प्रमुख आतिथि मसुद अहमद शाह, विशिष्ट अतिथि जय किसान मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वृजेन्द्र कुमार यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत र शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक(कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो ।
जयकिसान मावि भोजपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनी र नमुना प्राथमिक विद्यालय मोतिपुर तथा सोनवर्षाको मदरसा इस्लामिया गरी ४ वटा विद्यालय उत्कृष्ट विद्यालय घोषित भएका छन् ।
उत्कृष्ट विद्यालयले नगद २० हजार रुपैयाँ पाएका छन् । प्रधानाध्यापकतर्फ नेरा प्रावि खोदवाँका इन्द्र बहादुर यादव, नेरा प्रावि जमुनाहाका सज्जाक खाँ र मदरसा गौसिया गुल्सने रजा मटेहियाका कमाल अहमद मुकेरी पुरस्कृत हुनुभएको छ भने जनही ५ हजार पाउनुभएको छ ।
यस्तै उत्कृष्ट शिक्षकमा प्राथमिक तहका महेन्द्र मावि मटेहियाकी दिलमाया ओली, नेरा प्रावि बनियागाउँका हरि बहादुर थापा, जय किसान मावि भोजपुरकी बाल विकास सहजकर्ता हरिकला योगी र नेरा प्रावि शंकरनगर कोटियाका कार्यालय सहयोगी पंकज चमार जनही ५ हजार रुपैयाँसहित सम्मानित हुनुभएको छ । निम्न मावितर्फ जय किसान माविका तिरथराम मौर्य पुरस्कृत हुनुभयो ।
माध्यामिक तहका शिक्षकमा सामाजिक विकास डिभिजन कार्यालयद्वारा उत्कृष्ट सम्मानित शिक्षकहरु जय किसान मावि भोजपुरका लक्ष्मण प्रसाद तिवारी, आदर्श मावि लक्ष्मणपुरका त्रिलोकीनाथ मौर्य, जयकिसान माविका अरुण कुमार यादव र महेन्द्र मावि मटेहियाका सोमनाथ थारु जनही ५ हजार रुपैयाँसहित पुरस्कृत हुनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जयकिसान मावि भोजपुरका बृजेन्द्र कुमार यादव र मदरसा रजविया तालीमुल कुरान जनतापुरका बसिर खाँ सम्मानित हुनुभयो ।
यस्तै १० हजार नगदसहित उदियमान विद्यालयका रुपमा मदरसा सिराजिया इस्रारुल उलुम मियाँपुर्वा, मदरसा दारुल उलुम अजमादिया बेउचहवा, नेरा प्रावि बनियागाउँ र नेरा प्रावि कोदरबेटवा पुरस्कृत भएका छन् ।





