
बैजनाथ । बाँकेको वैजनाथ गाउँपालिका अन्तरगतका ६ वटा स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्ने क्रममा मापदण्ड पालना गरे/नगरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएपश्चात पालिकाका अध्यक्ष मानबहादुर रुचालले ६ महिनाभित्र सबै स्वास्थ्य संस्थाहरुले कम्तिमा ५० प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्वास्थ्यको अवस्था सुधार गर्न बजेटको अभाव नभएकोले जिम्मेवार भएर कार्य गर्न स्वास्थ्यका कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्वारा सिमाभीको आर्थिक सहयोगमा सन्चालित वास इन हेल्थ परियोजनाले विश्व स्वास्थ्य संगठन र यूनिसेफले विकास गरेको वास फिट टुल प्रयोग गरेर बैजनाथ गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थाहरुले स्वास्थ्यका मापदण्ड पुरा गरे/नगरेर सेवा दिएको बारे अध्ययन गरेको थियो ।
खानेपानी, सरसफाइ तथा स्वास्थ्य संस्थाजन्य फोहोर, स्वच्छता र व्यवस्थापनसम्बन्धी स्वास्थ्य संस्थाले लागू गर्नु पर्र्ने ६४ वटा सूचकहरुका आधारमा उक्त अध्ययन गरिएको थियो । अध्ययनले बैजनाथका ६ वटा स्वास्थ्य संस्थामध्ये टिटिहिरिया स्वास्थ्य चौकीले सबैभन्दा बढी ३६ प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको छ भने नौबस्ता स्वास्थ्य चौकीले सबैभन्दा कम १९ प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको छ ।
अध्ययनमा सहभागी चिसापानी स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र, डिगिया, बनकटुवा प्राथमिक स्वास्थ्य सेवा केन्द्र र आधारभुत स्वास्थ्य सेवा केन्द्र, पेडारीले क्रमशः २१, २८, २० र २८ प्रतिसत मापदण्ड पुरा गरेर स्वास्थ्य सेवा दिइरहेका छन् ।
गेरुवा बर्दिया र लुमन्ति आवासको लागि सहयोग समूहले संयुक्त रुपमा बुधबार बैजनाथमा आयोजना गरेको खानेपानी तथा सरसफाइ र स्वच्छता सुधारका लागि पैरवी कार्यशालामा गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
उहाँले अध्ययन गरिएका सबै स्वास्थ्य संस्थाहरुको विस्तृत प्रतिवेदन सम्बन्धित स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समिति र गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । सार्वजनिक गरिएको प्रतिवेदन बुझेपश्चात गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले मापदण्ड अनुरुप सेवा दिने प्रमुख जिम्मेवारी स्वास्थ्य संस्थाका कर्मचारीहरुको रहेको स्पष्ट पार्नु भयो ।
नीति र बजेटका सवालमा समस्या भए पालिकामा सम्पर्क राख्न पनि उहाँले आव्हान गर्नुभयो । त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण शाहीले प्रशासनको कार्य हेर्ने स्वास्थ्य संस्थाका प्रमुखले दैनिकरुपमा वासको अवस्था सुधार गर्न तयार गरेको योजना अनुसार कार्य गर्नुपर्ने धारणा राख्नु भयो । साथै पालिकाले वास सुधार योजनाका कार्यान्वयन बारे प्रभावकारीरुपमा अनुगमन गर्ने उहाँले बताउनु भयो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, सबै वडाका अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, गेरुवा र लुमन्तिका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यशालामा लुमन्तिका कार्यक्रम संयोजक सूर्य खड्काले गाउँपालिकामा खानेपानी तथा सरसफाई दिगो विकासका लागि पालिकाका कर्मचारीहरुको जिम्मेवारी स्पष्ट तोक्नु पर्ने, ऐन, नीतिनियम र कार्यविधि तयार गरेर लागू गर्नु पर्ने, खानेपानी तथा सरसफाइका लागि कुल बजेटको २५ प्रतिसत बजेट छुट्टयाउनु पर्ने प्रस्तुति गर्नु भएको थियो ।
सो अवसरमा उहाँले वास दिगो विकास लक्ष्यको प्रतिवेदन गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई हस्तान्तरण गर्नु भएको थियो ।





