
नेपालगञ्ज । योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि आज शनिबार नेपालगञ्जमा समापन भएको समारोहमा ३१ जना दिक्षित भएका छन् ।
योग समिति नेपालका अध्यक्ष गिरिराज शर्मा भटराईको अध्यक्षतामा भएको गुरु दिक्षा ग्रहण तथा प्रमाण पत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणाले स्थानीयवासीले चाहेको खण्डमा प्रत्येक वडामा योगा हलको व्यवस्था गरिने बताउनु भयो ।
योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उहाँले योगाको सम्पूर्ण विकासका लागि नेपालगञ्ज उपमहानगरपालिका अग्रपंक्तिमा रहने विश्वास दिलाउनु भयो । यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले योग स्वास्थ्यको सञ्जीवनी भएकोले नेपालगञ्जलाई योगमय बनाउने बताउनु भयो ।
योग मनलाई शान्त राख्ने काम गर्ने भएको भन्दै उहाँले योगाको प्रचार प्रसारका लागि बाँके प्रशासन सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा समितिका सल्लाहकार नन्दलाल बैश्य, अधिवक्ता विश्वजीत तिवार, राजन राना मगर, बाँक आयुर्वेदका प्रमुख डा.अनिल चौधरी, बाँके आयुर्वेद विकास समितिका अध्यक्ष जनक भण्डारी, वडा नं.२ का अध्यक्ष सुनिल सिँह हमाल लगायतले नेपालगञ्जलाई क्यासिनो नभई योगमैत्री शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।





