हराउँदै, कोठीमा बेचिँदै

ज्योति कटुवाल
सुर्खेत । सात वर्षअघि उनी गाउँबाट हराएकी थिइन् । गुर्भाकोट नगरकी १३ वर्षीया ती किशोरी लामो समयसम्म नफिर्दा गाउँ, समाज र आफन्तले कतै घरजम गरेर बसेको हुनुपर्ने लख काट्थे । गत भदौ २३ मा उनी अचानक गाउँ आइपुगिन् । त्यसपछि उनले जे बताइन्, त्यो आफन्तले अनुमानसम्म गरेका थिएनन् ।

२०७१ जेठ १८ मा उनी माइजू नन्दकली कामीसँग भारत लागेकी थिइन् । कामीले भनेकी थिइन्, ‘दिल्लीमा मेरा छोरीहरूसँग किताब कारखानामा नोकरी गर्नू, खुब पैसा हुन्छ । काम गाह्रो छैन, दुःखका दिन दूर हुन्छन् ।’ माइजूले ललाइफकाई उनलाई कोठीमा लगेर छाडेकी रहिछन् । उनलाई जबर्जस्ती देहव्यापारमा लगाइयो । एकै दिन धेरै जना पुरुषले उनको शरीरसँग खेल्थे । ६ महिनापछि उनको पेट केही बढेको जस्तो थियो । अस्पताल पुर्‍याइयो र पाठेघर निकालियो ।

‘बच्चा बसेको रहेछ, मलाई थाहा थिएन । तिम्रो पेट सुन्निएको छ, औषधि खाए हुन्छ भन्दै अस्पताल लगिएको थियो,’ उनले भनिन्, ‘डाक्टरहरूले अप्रेसन गरेपछि पो थाहा भयो, मेरो पेटमा बच्चा थियो भनेर ।’ कोठीमा झन्डै १५ महिना बसेपछि उनलाई फेरि अस्पताल लगियो । अस्पतालबाटै भागेर उनी मुम्बई पुगिन् र त्यहीं काम गर्न लागिन् । ‘कोठीमा पाएको पीडा र परिवारको आर्थिक अवस्था कमजोर हुँदा त्यतिबेला नेपाल फर्कन पाइनन्,’ उनले भनिन्, ‘अहिले कोरोना महामारीका कारण भारतमा पनि काम रोकिएपछि नेपाल फर्किएकी हुँ ।’

उनले उजुरी दिएपछि माइजू नन्दकली कामी र दुई छोरीहरू तारा र ममतालाई भदौ २८ मा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गर्ने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी पदम विष्टले बताए ।

चौकुने गाउँपालिका–४ की दुई १३ वर्षीया बालिकालाई पनि दुई वर्षअघि उनीहरूकै नाता पर्ने दुरा विक र धर्मा विकले भारत पुर्‍याएका थिए । भारतीय कोठीमा बेचिएका उनीहरू त्यहाँ पुगेको पहिलो दिनमै भाग्न सफल भए । उनीहरूको उजुरीका आधारमा पक्राउ परेका दुरा र धर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांकअनुसार १ हजार ९ सय २ जना महिला तथा बालबालिका हराएका छन् । त्यसमध्ये अझै ८ सय ९६ जना नभेटिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

२०७५र७६ मा ४ सय १३ महिला, १ सय ७३ बालक र २ सय ९५ बालिका हराएका थिए । त्यस्तै २०७६र७७ मा २ सय ५० महिला, १ सय २२ बालक र १ सय ३७ बालिका हराएका छन् । गत वर्ष ४ सय महिला, ८५ बालक र १ सय ४० बालिका हराएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एसपी विष्टका अनुसार आफन्तकै प्रलाभनमा परी धेरै महिला तथा बालबालिका मानव बेचबिखनको सिकार भएका छन् । बेचबिखन हुने र हराउनेमा १३ देखि ४५ वर्षसम्मका बढी छन् । सबैभन्दा धेरै दलित र जनजाति परिवारका महिला बेचबिखनमा पर्ने गरेको उनले जानकारी दिए ।

‘विपन्न परिवारका बढी हराउने गरेका छन्,’ उनले भने, ‘आफन्तद्वारा बेचिएर फर्किएकाले मात्र प्रहरीमा उजुरी दिन्छन् र पीडक पक्राउ पर्छन्, उजुरी नदिएकाहरूको अवस्था भने हामीलाई पनि थाहा हुँदैन ।’

कतिपयलाई भारतीय बाटो हुँदै विदेश पुर्‍याउने बहानामा पनि कोठीमा पुर्‍याइने गरिएको अधिकारकर्मी पवित्रा शाहीले बताइन् । कान्तिपुरबाट साभार

Previous articleन्याय माग्दै बाँकेबाट हिँडेर बुटवल पुगे १४ जना, पैदलै काठमाडौं जाने
Next articleकोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here