
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ ले स्थानीयलाई सिफारिसबाट बञ्चित गरेको पाइएको छ । वडा कार्यालयले स्थानीय एक समूहले सूृचिकृत हुनका लागि माग गरेको सिफारिस नदिइएको पाइएको हो ।
समहूमा आवद्ध पदाधिकारीले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गर्न पुगेपछि कार्यालयले सिफारिसबाट बञ्चित गरेको खुलासा भएको हो । समूहका अध्यक्ष फरक पार्टीको व्यक्ति भएको र गत निर्वाचनमा अध्यक्षका बिरुद्धमा लागेको भन्दै उक्त समूहले माग गरेको सिफारिस दिन इन्कार गरिएको हो ।
वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको गम्भिर आरोप लागेको छ । जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित शिव शक्ति कृषक समुहका अध्यक्ष पवन कुमार विश्वकर्माले वडाअध्यक्षबाट सिफारिस नपाएको बताउनुभयो ।
समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सुचिकृत हुनका लागि सिफारिस माग गर्न गएका बेला वडाअध्यक्ष गुप्ताले विपक्षी दलको भएको, आफुलाई भोट पनि नदिएको भन्दै सिफारिस दिन मान्नु भएन,’ समूहका अध्यक्ष बिश्वकर्माले भन्नुभयो ।
बिश्वकर्माले वडा कार्यालयले सिफारिस नदिएको विरुद्ध आफु जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायत निकायमा जाने बताउनुभयो । सोही वडाकै स्थानीय हेमलता थापाले पनि वडाअध्यक्ष गुप्ताले आफ्नो मान्छेलाई मात्र सिफारिस दिने गरेको गुनासो गर्नुभयो ।
तर यस बिषयमा वडा अध्यक्ष गुप्ताले आफुकहाँ सिफारिस लिनै नआएको जिकिर गर्नुभयो । वडा कार्यालयले कसैलाई पनि सिफारिसबाट नरोकेको वडाअध्यक्ष गुप्ताको दाबी छ ।





