कोहलपुरका स्वास्थ्य संस्थाको अवस्था सार्वजनिक, शम्सेरगन्जबाट ३४ प्रतिशत मापदण्डमा सेवा प्रदान

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका अन्तरगतका ६ वटा स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्ने क्रममा नेपाल सरकारले तय गरेको मापदण्ड पालना गरे/नगरेको अध्ययन प्रतिवेदन एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्वारा सिमाभीको आर्थिक सहयोगमा सन्चालित परियोजना वास इन हेल्थले विश्व स्वास्थ्य संगठन र यूनिसेफले विकास गरेको वास फिट टुल प्रयोग गरेर कोहलपुर नगरपालिका का ६ वटा स्वास्थ्य संस्थाहरुले स्वास्थ्यका मापदण्ड पुरा गरे/नगरेर सेवा दिएको बारे अध्ययन गरेको गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिनुभयो ।

खानेपानी, सरसफाइ तथा स्वास्थ्य संस्थाजन्य फोहोर, स्वच्छता र व्यवस्थापन सम्बन्धी स्वास्थ्य संस्थाले लागू गर्नु पर्ने ६४ वटा सूचकहरुका आधारमा गरिएको अध्ययनबाट शम्सेरगन्ज स्वास्थ्य चौकीले सबैभन्दा बढी ३४.९ प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको देखिएको छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र, रानीघाटले सबैभन्दा कम १४.७५ प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको छ । अध्ययनमा सहभागी आधारभूत स्वास्थ्य सेवा केन्द्र, कौशिलानगर, रझेना स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द, शान्तिनगर र कोहलपुर स्वास्थ्य चौकीले क्रमशः २५, २५, ३१.१५ र ३४.३८ प्रतिसत मापदण्ड पुरा गरेर स्वास्थ्य सेवा दिइरहेका छन् ।

गेरुवा बर्दिया र लुमन्ति आवासको लागि सहयोग समूहले संयुक्तरुपमा शुक्रबार कोहलपुरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ र स्वच्छता सुधारका लागि पैरवी कार्यशालामा अनुसन्धानकर्ता समेत रहनुभएका गेरुवाका कार्यकारी निर्देशक सुवेदीले अध्ययनको प्रतिवेदन स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समिति र नगरपालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यशालाको अन्तमा स्वास्थ्य संस्थाहरुको प्रतिवेदन बुझेपश्चात नगर प्रमुख श्री लुट बहादुर रावतले हालको अवस्थाबारे जानकारी गराउनु भएकोमा गेरुवालाइ धन्यवाद दिंदै स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा दिने बारे थप छलफल गरिने र छिट्टै सुधार गरिने प्रतिबद्धता गर्नु भएको छ । सो अवसरमा उहाँले स्वास्थ्य संस्थाहरुकोे क्षमता सुधार गर्न हाल कार्यरत संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास लिएको पनि बताउनु भयो ।

कोहोलपुर नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, स्वास्थ्य र सरसफाइ शाखाका प्रमुखहरु, ६ वटा स्वास्थ्य संस्थाका इन्चार्जहरु र वास इन्टरनेशनलका साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यशालामा लुमन्तीले लेदोजन्य दिसा व्यवस्थापन आयोजनाको अध्ययन प्रतिवेदन हस्तन्तरण गरेको थियो ।

Previous articleफरक पार्टीका कारण सिफारिसबाट बञ्चित
Next articleबर्दियाको मधुवनमा सीमा लक्षित सुरक्षित संञ्जाल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here