
बाँके । बाढीमा फसेकाहरुको उद्धार गर्न ल्याइएको मोटरबोटको सफल परीक्षण गरिएको छ ।
बाढीका समयमा तत्काल उद्धार कार्य सञ्चालनका लागि आएको तीन वटा मोटरबोटको बिहीबार सफल परीक्षण गरिएको हो ।
बाढीको तयारी स्वरुप जिल्ला बिपद् व्यवस्थापन समितिको अगुवाई र जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्रको समन्वयमा नेपालगञ्जस्थित वाटरपार्कमा मोटरबोटको सफल परीक्षण गरिएको केन्द्रका प्रमुख गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।
परीक्षणमा बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना, शसस्त्र प्रहरी बल महेन्द्रनगरका प्रहरी उपरिक्षक दिपक अधिकारी, भैरव प्रसाद गणका प्रमुख सेनानी नहकुल थापा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना लगायत सहभागि हुनुभएको थियो ।

जिल्लामा बाढीबाट हुनसक्ने क्षति न्युनिकरणका लागि प्रयोग गर्न सकिने मोटरबोटको संख्या पाँच पुगेको छ । जसमध्ये दुई नेपाली सेना, दुई शसस्त्र प्रहरी बल र एक नेपाल प्रहरीसंग रहेको छ ।
त्यस्तै बाढी जोखिम क्षेत्र राप्तीसोनारीमा तीन, नरैनापुरमा दुई र डुडुवामा एक वटा गरी पाँच वटा नै रबर बोट रहेका छन् ।
बाँके जिल्ला बाढी प्रभावित क्षेत्र भएकाले यहाँ बर्षेनी ठुलो धनजनको क्षति हुने गरेको छ ।
जिल्लाको खासगरी डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिका बाढीको उच्च जोखि क्षेत्र हुन । अहिले देशैभरी बाढी पहिरोका कारण ठुलो क्षति भएको छ ।
यही बाढीले बाँकेमा ल्याउन सक्ने मानवीय लगायतका जोखिमलाई कम गर्न जिल्लामा मोटरबोटको व्यवस्थापन गरिएको हो ।





