ट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण

रासस, चितवन । ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार पाँच लाख रूपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।

विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती–११ स्थित चिउरीखोलामा ना १ त ६२८२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए ।

नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

एक मृतकका दुई वटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले १५ लाख, खैरहनी नगरपालिकाले पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले चार लाख, ठेकेदारले चार लाख र ट्र्याक्टर धनीले दुई लाख गरी ३० लाख रूपैयाँ जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको बताउनुभयो ।

सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी संघसँग समन्वय गरी उपचार गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट सात लाख बराबरको छुट गराइएको जानकारी दिनुभयो ।

राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।

Previous articleकेहीले नयाँलाई सदस्यता रोक्न खोजेका थिए, हामीले दिलाउन सफल भयौं’ : क्षेत्रीय सभापति खत्री
Next articleमहेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा १० घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here