केहीले नयाँलाई सदस्यता रोक्न खोजेका थिए, हामीले दिलाउन सफल भयौं’ : क्षेत्रीय सभापति खत्री

नेपालगन्ज । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले केन्द्रबाट निर्वाचन तालिका आइसकेकाले यही कात्तिक २७ गते तोकिएकै दिन वडा अधिवेशन हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाउँ कार्यसमिति कुसुमले शनिबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खत्रीले पार्टीको विधान अनुसार कात्तिक २७ गते क्षेत्र नम्बर १ का ३० वटै वडामा एकैसाथ अधिवेशन गर्ने तयारी भइरहेको बताउनुभयो ।

क्रियाशिल सदस्यता वितरणका विषयमा यसअघि केन्द्रमा एउटा सहमती भएको र लगत्तै लिष्ट प्रकाशित गर्दा कर्मचारीबाट केही नामहरुमा बद्मासी हुँदा त्यसले पुनः विवाद सिर्जना गरेको सभापति खत्रीले प्रष्ट्याउनुभयो ।

‘केन्द्रमा एउटा सहमती गर्यौ र त्यो लिष्ट प्रकाशित भयो, त्यसपछि पनि सहमतीका नामहरुमा कर्मचारीबाट बद्मासी भएको छ, त्यसलाई पनि करेक्सन गर्ने भन्ने सहमती भएको छ,’ उहाँले भन्नुभयो ‘भएको यत्ति हो, कसैले के गरे, कसैले के गरे, मलाई थाहा छैन, आफ्नो अनुकुल जसले पनि गर्न खोज्छ, गर्न पनि चाहन्छ, त्यो स्वभाविक हो, अन्तिममा निस्कर्ष यसरी निस्केको हो ।’

क्रियाशिल सदस्यतामा विवाद सिर्जना गरेर केही ब्यक्तिले नयाँलाई सदस्यताबाटै बञ्चित गर्न खोजेको र आफुले त्यसलाई रोक्न सफल भएको उहाँले बताउनुभयो ।

‘सबैले फाराम भरेकाले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता पाउनुपर्छ भनेर हामीले भनेका थियौं, तर केही साथीहरुले १३ औं महाधिवेशनका सदस्यलाई मान्यता दिनुपर्यो, नयाँलाई रोकौं भन्नु भएको थियो, त्यो हामीले मानेनौं, हामीले भनेको जस्तै नयाँ क्रियाशिललाई सदस्यता दिइयो, अब टुंगिसक्यो ।’

विगतको निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध घात–अन्र्तघात गर्ने, एमाले र माओबादीसँग साँटगाठ गर्ने ब्यक्तिलाई अहिले पार्टीको चुनावमा राम्रोसँग चिन्न क्षेत्रीय सभापति खत्रीले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘जतिबेला हामी बाहिरका उम्मेदवारसँग लड्नुपर्ने थियो, त्यो बेलामा एमाले र माओबादी रोज्न तिर लाग्ने, अहिले आएर पार्टीको चिन्ता गर्ने ? यसले कांग्रेस बन्दैन,’ उहाँले भन्नुभयो ।

कांग्रेसको सवाल अहिले को राम्रो, को जाद्रो र कांग्रेसमा को गुट राम्रो, को गुट जाद्रो भन्ने नभएर ६ महिनापछि हुन लागेको स्थानीय निर्वाचन पनि रहेको बताउनुभयो ।‘निर्वाचन आयोगले सरकारलाई दिइसक्यो चैतमा निर्वाचन गर्ने भनेर, हामी कांग्रेसलाई फेरी जिताउन तयार छौं भने आजका मितिदेखी सबै क्रियाशिलले मतदाता नामावलीमा नाम संकलन कहाँ–कहाँ भए, कहाँ–कहाँ छुट्यो, कहाँ–कहाँ छुटाउनु भएको छ, त्यहाँ छुटाउनेलाई भर्न लगाउने, पहिलो काम त्यो गरौं,’ सभापति खत्रीले भन्नुभयो ।

कांग्रेसका नेता, कार्यकर्ता पहिलो काम मतदाता नामावली संकलनमा लाग्नुपर्ने बताउनुभयो । सबैलाई भर्न लगाऔं । तिहारको अगाडी नै गरौं । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा आफु पुन : दोहोरिन लागेको कारण स्पष्ट पार्दै उहाँले आफुले आदर सम्मान गर्ने ब्यक्ति जिल्ला सभापतिको उम्मेदवार बन्न लागेकाले यसपटक क्षेत्रीय सभापतिमा पुनः दोहोरिनुपर्ने स्थिती आएको बताउनुभयो ।

‘मेरो मर्यादाले जिल्लामा लड्न दिदैन । त्यसकारण म पुनः क्षेत्रीय सभापतिमा लड्नुपर्ने अवस्था आयो,’ सभापति खत्रीले भन्नुभयो ‘हातको चरी उडाएर आकाशको चरी खोज्न थाल्ने हो भने त्यो पनि मुर्खता हुन्छ ।’ आफु क्षेत्रीय सभापति भएर एक पटक पुनः कांग्रेसलाई अझ चलायमान गराउन चाहेको बताउनुभयो ।

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाउँ कार्यसमिति सभापति टिकाराम बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हुर्मत न्यौपाने, यमबहादुर खड्का, पुर्वक्षेत्रीय सभापति कृष्णप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी पोषण केसी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, राप्ती सोनारी १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

उक्त कार्यक्रममा राप्रपा परित्याग गरी थम्मनबहादुर भण्डारी, पिमलाल डाँगी लगायत करिव एक दर्जन ब्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको गाउँ कार्यसमिति सचिव मोहन डाँगीले जानकारी दिनुभयो ।

Previous articleनेपालका लागि नेपाली पार्टी बाँकेको दोस्रो बैठक, तिहारलगत्तै शाखा बिस्तार गरिने
Next articleट्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुर परिवारलाई ३० लाख सहयोग हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here