
एजेन्सी
न्युजिल्यान्ड । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागु भएको छ ।
स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास भएको थियो ।
न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आजदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने पहिलो सर्त छ ।
कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन् ।
यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।
इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ ।
तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक(फरक मापदण्ड बनाएका छन् ।





