डुडुवामा कन्या मुद्दती खाता : छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

रासस,
बाँके । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दती खाता’ खोलि दिएपछि अभिभावक खुसी भएका छन् ।

छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले यो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्ता बालिकाको बैँक खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो ‘छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।’

गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ ।

यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका छ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दती शिक्षा कार्यक्रम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यसका लागि यस वर्ष ४० लाख रुपैयाँ छुटाइएको छ । कार्यक्रममा समेटिन बालिका स्वास्थ्य संस्थामा जन्मिएको प्रमाणपत्र, जन्म दर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ ।

बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दती खाता सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

खातामा जम्मा भएको रकम बालिका २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि बालिकालाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ ।

‘अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । बैङ्क खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिई अभियान ल्याएका हौँ, ‘ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भन्नुभयो, ‘खासमा छोरीहरूको साक्षरता दर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो । यसका साथै अभिभावकको क्षति कम गर्न पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।’

खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले पाँच हजार रुपैयाँ थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका श्रोत व्यक्ति दीपेश चौधरीले भन्नुभयो, ‘धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै १० हजार रुपैयाँ राखेर खाता खोलिदिने निर्णय गर्‍यो ।’ गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छोरीलाई पढाउन खासै चासो दिइन्नँ । अधिकांश छोरी घरको सानोतिनो काम र गाईबस्तु चराउनमै बिताउँछन् ।

धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन्, पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।’

विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैङ्क खाता खोलिदिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोलिदिने र पहिलो वर्ष रु १० हजार जम्मा गरिदिने कार्यक्रम आकर्षक र प्रभावकारी भएको जानकारी दिनुभयो ।

बैङ्क खाता खोलिएसँगै धेरै परिवारलाई छोरीको पढाइ अनि विवाहको चिन्ता हटेको छ । डुडुवा-६ रामनगर उचुवाकी सुनिता गोडियालाई कान्छी छोरीको बैङ्क खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये लक्ष्मीको मात्र बैंकमा खाता छ । अन्य छोरीको पालामा गाउँपालिकामा कन्या मुद्दती खाता योजना आएकै थिएन । लक्ष्मी बल्ल तीन वर्ष हुँदै छिन् ।

‘सुुरुमा पाँच हजार रुपैयाँ बुझाएँ, हामी मजदुरी गर्नेले वर्षौँ यत्तिका पैसा बुझाउन कहाँ सक्थ्यौँ,’ उहाँले भन्नुभयो, ‘अहिले पालिका आफैँले वर्षको १० हजार रुपैयाँ खातामा जम्मा गरिदिँदा धेरै खुसी छौँ ।’

उहाँले स्थानीय सरकारले ल्याएको कन्या मुद्दती खाताप्रति खुसी व्यक्त गर्दै यसले आर्थिक टेवा समेत सहयोग पुगेको बताउनुभयो । यस कार्यक्रमअन्तर्गत हालसम्म १७२ छोरीको खाता खोलिएको छ । उनीहरू सबै तीन वर्षमुनिका छन् । उनीहरू सबैको बिमासमेत गरिएको छ ।

Previous articleयात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु
Next articleहवलदापुरमा कारको ठक्करबाट एक युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here