एक दिन पछाडी धकेलियो कांग्रेस बाँकेको निर्वाचन

नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा तय भएका निर्वाचन सम्बन्धी सबै कार्यक्रम पछाडी धकेलिएको छ ।

जिल्ला निर्वाचन परिचालन समितिले यसअघि कात्तिक २७ गते वडा, कात्तिक ३० गते गाउँपालिका र नगरपालिका, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र र मंसिर १० गते जिल्लाको निर्वाचन गर्ने समय तय गरेको थियो ।

क्रियाशिल सदस्यताका विषयमा विवाद उत्पन्न भएर निर्वाचन परिचालन समितिको सचिवालयमा तालाबन्दी गरिएपछि सबै निर्वाचन कार्यक्रम पछाडी धकेलिएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले बताउनुभयो ।

कांग्रेसको असन्तुष्ट समुहले २ सय ३९ जनाको क्रियाशिल सदस्यता थप भएर आउन लागेको भन्दै निर्वाचन परिचालन समितिको सचिवालयमा बुधबार बेलुका एक्कासी तालाबन्दी गरेको थियो ।

सचिवालयमा लगाइएको उक्त ताला उक्त समुहले बिहीबार आफै खोलिसकेको छ । तालाबन्दी खुलेपनि निर्वाचन कार्यक्रम प्रभावित भएकाले पछाडी धकेलिएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार बिहीबारका लागि तय भएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम शुक्रबार (भोली) नेपालगन्जमा गर्न लागिएको छ ।

यस्तै शुक्रबारका लागि तोकिएको उम्मेदवार मनोनयन कार्यक्रम शनिबार हुनेछ, भने कात्तिक २८ गते आइतबार ८१ वटै वडाको निर्वाचन गराइनेछ ।

निर्वाचन कार्यक्रम एकदिन पछाडी धकेलिएपनि निर्वाचन सम्पन्न गर्न तयारी तिब्र पारिएको निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले बताउनुभयो ।

निर्वाचन कार्यक्रम एकदिन पछाडी धकेलिँदा कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने भएको छ ।

Previous articleकोरोना बिरुद्धको खोप कार्यक्रम बारे घरदैलो
Next articleदुई लिटर कोरेक्ससहित जमुनाहाबाट एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here