
काठमाण्डौं । कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३(० ले क्लिनस्विप गरेको छ । बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो ।
यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो । पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ ।
बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो । नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन् । नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हिर्काइन् ।
ओपनर काजल श्रेष्ठ ७ रनमा आउट हुँदा ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको योगदान दिइन् । यस्तै सरिता मगरले ११ बलमा नटआउट १७ रन जोडिन् । १६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र जोड्न सक्यो ।
कतारका लागि अलीना खानले १९ रन र कप्तान आयसाले १३ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले १/१ विकेट लिए । कतारका चार ब्याटरलाई नेपालले रनआउटको सिकार बनाएको थियो ।
नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो । विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ । छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ ।





