
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु उत्कृष्ठतातर्फ अघि बढिरहेका छन् । संघ संस्थाले परियोजना गरेका बिद्यालयहरु नमूना उन्मुख भएको देखिएको हो ।
पालिकाभित्रका केही बिद्यालयहरु नमूना भएको भन्दै ती बिद्यालयहरुलाई स्वयं गाउँपालिकाले पुरस्कृत समेत गरेको छ । परियोजना संचालन भएपछि बिद्यालयको चौतर्फी बिकासमा सहयोग पुगेको र बिद्यालयहरु नमूना उन्मुख रहेको देखिएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताउनुभयो ।
‘परियोजना संचालन भएपछि निश्चय नै यहाँका केही बिद्यालयहरुमा धेरै कुराहरु राम्रा भएका छन्, ‘ शिक्षा प्रमुख मल्लले भन्नुभयो, ‘बिशेषगरी सामाजिक सचेतन सरोकार मंच स्याक नेपालले संचालन गरेको सिकाई परियोजनाले बिद्यालयहरुलाई नमूना बन्न प्रेरित गरेको देखिन्छ ।’
परियोजनामार्फत संचालन गरेको आइसिटि तालिम, शैक्षिक सिकाई तथा सन्दर्भ सामाग्री निर्माण, फुलवारी कार्यक्रम, कक्षा कोठा व्यवस्थापन लगायतका गतिबिधिले बिद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्नुका साथै व्यवस्थापन समितिलाई समेत बिद्यालय संचालन गर्न ज्ञान प्रदान गरेको देखिएको शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।
गाउँपालिकाले शैक्षिक बिकासका लागि बजेट बिनियोजन गर्ने गरेको भएपनि त्यो प्रयाप्त नहुने र बिभिन्न संघसंस्थाले गर्ने कार्यले शैक्षिक बिकासमा इट्टा थप्ने काम भएको शाखा प्रमुख मल्लको भनाई छ । संघसंस्था नभईदिएको भए जुन किसिमले हाल शैक्षिक गतिबिधि संचालन भइरहेको छ, उहाँले भन्नुभयो, यो रफ्तार र आवश्यक ज्ञान सीपको अभाव कायमै हुन्थ्यो, जस्तो लाग्छ । संस्थाहरुको सहयोग आवश्यक पनि छ ।
परियोजना संचालन भएपछि खजुरा वडा नं ४ बुद्धपुरमा अवस्थित अम्बेमाता प्राथमिक बिद्यालय नमूना बिद्यालय घोषणा भएको छ । जसलाई गाउँपालिकाले प्राथमकि बिद्यालयमध्ये उत्कृष्ठ बिद्यालयका रुपमा पुरस्कृत समेत गरेको छ । परियोजना संचालन भएपश्चात लैंङ्गिक बिभेद घटेको अम्बेमाता प्राबिका प्रधानाध्यापक अम्बिका थापाले प्रतिक्रिया दिनुभयो ।
उहाँले परियोजना अन्तर्गत संचालन भएका तालिमहरुले बालबालिकाहरुको शैक्षिक स्तर बढाउन एकदमै सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बिद्यालयमा परियोजना संचालन भएपछि पुगेको सहयोगले नै हामी गाउँपालिकाबाट उत्कृष्ठ बिद्यालय घोषित हुन सफल भयौं ।’
यस्तै खजुरा वडा न. ३ स्थित आदर्श माध्यमिक बिद्यालय र नेपाल राष्ट्रिय आधारभूत बिद्यालय मनकामनापुर पनि नमूना उन्मुख बनिरहेका छन् । आदर्श माबि नमूनाका रुपमा भएपनि परियोजनाका गतिबिधिले धेरै सहयोग पुगेको प्रधानाध्यापक राजेन्द्र सापकोटाले बताउनुभयो ।
स्याकले बिद्यालयमा शैक्षिक सामाग्री सहयोग, कक्षा कोठा व्यवस्थापन, सन्दर्भ सामाग्री निर्माण, फुलवारी कार्यक्रम, शुद्ध पिउने पानीको व्यवस्थापन लगायतका गतिबिधिले बिद्यालयको शैक्षिक कार्यसंगै भौतिक क्षेत्रमा सहयोग पुगेको र यस्ता गतिबिधिले बिद्यालयलाई थप नमूना बन्न सहयोग पुगेको प्रअ सापकोटाले बताउनुभयो ।
यसैगरी सिकाई परियोजना संचालन भएको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय मनकामनापुर पनि गाउँपालिकाभित्र आधारभूत बिद्यालयमध्येको उत्कृष्ठ बिद्यालय घोषित हुन सफल भएको छ । यो बिद्यालयलाई समेत गाउँपालिका शिक्षा दिवसका अवसरमा पुरस्कृत गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानुका बानियाले बिद्यालयमा संचालन भएको गतिबिधिले बिद्यालयका शैक्षिक गुणस्तरमा ठुलो योगदान पुर्याएको बताउनुभयो । प्लान इन्टरनेल नेपालले बिगतमा समेत बिद्यालयको भौतिक पक्षमा समेत सहयोग गर्दै आएको र स्याकले पनि प्लानको सहयोगमा नै बिद्यालयमा खानेपानी व्यवस्थापन लगायतका कार्यहरु गरेको र सो कार्यलाई बिद्यालयमा बिद्यार्थीहरुको शैक्षिक सिकाई कार्यलाई बिशेष मद्दत भएको उहाँले प्रतिक्रिया दिनुभयो ।
स्याक नेपालले बाँकेको खजुरा गाउँपालिकामा सिकाई परियोजना संचालन गरेको छ । लैंङ्गिकमैत्री कक्षा कोठा र बिद्यालय निर्माण, शैक्षिक सामाग्री निर्माण, सन्दर्भ सामाग्रीको प्रयोग लगायतका भौतिक पक्षमा सहयोग गर्ने गतिबिधि संचालन गर्दै आएको स्याकका सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।
खजुरा गाउँपालिकामा औषतमा १ देखि ५ कक्षासम्मको शैक्षिक उपलब्धी ६० देखि ६५ प्रतिशत, ६ देखि ८ कक्षासम्म ५५ प्रतिशत र ९ देखि १० सम्मको २.८ जिपिए रहेको छ । ९६.०४ प्रतिशत भर्ना दर रहेको छ भने ३.४ प्रतिशत बिद्यालय छाड्ने दर रहेको छ । खुजरा शिक्षा शाखा प्रमुख मल्लका अनुसार बिद्यालय छाडेकाहरुमध्ये ९३ जनालाई पुन : भर्ना गराएर उनीहरुलाई दुई हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ । यस्तै सय जनालाई पनि दुई हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरिएको छ ।





