
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका पनि बालविवाह मुक्त घोषणा भएको छ । योसंगै बाँकेमा बाल विवाह मुक्त हुने स्थानीय तहको संख्या दुई पुगेको छ ।
बैजनाथ गाउँपालिका–६ रामपुरमा मंगलबार आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बैजनाथलाई बालविवाह मुक्त पालिका घोषणा गर्नुभएको थियो ।
जिल्लामा खजुरा–३ पछि दोस्रो वडाका रुपमा बैजनाथ वडा नम्बर–१ बालविवाह मुक्त घोषणा भएको थियो । यसअघि जिल्लाको जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भइसकेको छ ।
सो अवसरमा जिल्लालाई बालविवाह मुक्त घोषणा कार्यक्रमलाई सघाउने विभिन्न व्यक्ति, सरकारी र गैरसरकारी संघसंस्थाका १५ जनालाई सम्मान गरिएको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरी सघाएको थियो ।





