
नेपालगञ्ज । गरिबी बिरुद्ध महिला कार्यक्रम अन्तर्गत लक्षित महिलाका लागि उद्यमशीलता सम्बन्धी दुई दिने सचेतना तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।
बुधबार एक समारोहकाबीच उक्त सचेतना तालिमको समापन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा संचालन भएको तालिममा नेपालगञ्जका बिभिन्न वडाहरुका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले महिलाहरुलाई उद्यमशील बन्नका लागि पहिले महिलाहरु नै आफुलाई के गर्ने इच्छा, सो कुरामा उद्यम संचालन गर्नुपर्ने बताउनुभयो ।
जबसम्म म के गर्न चाहन्छु भन्ने कुरामा मनबाटै निक्र्यौल गर्न नसकिने अवस्थामा शुरु गरिने जुनसुकै काम सफल हुन नसक्ने उहाँले धारणा राख्नुभयो । उहाँले महिलाहरु नै मिलेर बिभिन्न सरकारी कार्यालयमार्फत प्रदान हुने अनुदान रकम नै लिएर उद्यमतातर्फ अघि बढ्न सक्ने बताउनुभयो ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले महिलाहरुले धेरै काम गर्न सकिने र त्यसका लागि सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले आफुले उद्यम शुरु गर्ने कुरालाई सम्झँदै भन्नुभयो, शुरु शुरुमा कसैले तपाईको कामलाई साथ नदिने बताउनुभयो ।
तर बिस्तारै बिस्तारै तपाईको मेहनत र त्याग अनुसार जब गरेर व्यवसाय वा काम सफलतातर्फ उन्मुख हुन्छ अनि तपाईलाई सबैले बिश्वास गर्न थाल्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महासंघ प्रमुख शोभा शाहले महिलाहरुका लागि धेरै अवसर भएकाले अवसरलाई सदुपयोग गर्नुपर्नेमा सक्रियता देखाउनुपर्ने बताउनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले पनि उद्यमका लागि बिना धितो अनुदान उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।
सचेतना तालिमलाई राज बहादुर चौधरीले सहजीकरण गर्नुभएको थियो । उद्यमशीलता, सक्षमता बिकास, उद्यमशील बन्नका लागि आवश्यक कुराहरुबारे तालिममा जानकारी गराइएको थियो ।
व्यवसायीक अवधारणा, स्वरोजगार, आयआर्जनका फाईदा तथा बेफाईदा, व्यवसायीक अवसर पहिचान जस्ता कुराहरुबारे जानकारी दिइएको सहजकर्ता चौधरीले बताउनुभयो । उहाँको अनुसार उद्यमतातर्फ उत्प्रेरित गर्न यो तालिमले मुख्य भूमिका खेल्ने जानकारी दिनुभयो ।
पहिलो चरणमा यो तालिम संचालन गरिएको र अति बिपन्न, व्यक्तिगत, समूहगत उद्यमशीलतातर्फ अघि बढेका महिलाहरुलाई अनुदान लगायतका सहयोग गर्ने कार्यक्रम रहेको महिला बिकास अधिकृत मन्जु पाण्डेले जानकारी दिनुभयो ।





