
नेपालगञ्ज । नेपालगञ्जका अति बिपन्न ३५ जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जमा संचालित किशोर किशोरी तथा युवा सशक्तिकरण परियोजनामार्फत बिपन्न बिद्यार्थीलाई छात्रबृति बितरण गरिएको हो ।
सामाजिक बिकास मंच (एस डिएफ) बाँकेले नेपालगञ्जका बिभिन्न चार वटा बिद्यालयमा अध्ययनरत अति बिपन्न बिद्यार्थीलाई प्रति बिद्यार्थी १२ हजारका दरले छात्रबृति रकम सहयोग प्रदान गरिएको परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार र बिहीबार गरेर ३५ जनालाई उक्त छात्रबृति रकम प्रदान गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक लगायतको उपस्थितिमा बितरण गरिएको मंचका सिनियर फिल्ड अफिसर बृजेश ठाकुरले बताउनुभयो ।
चार वटै बिद्यालयबाट सिफारिस भएका बालबालिकाहरुको वास्तविकता पहिचान गरेर नगरमा रहेका सरोकारवालासहितको अनुगमन पश्चात छात्रबृति सहयोग आवश्यक भए/नभएको निक्र्यौल गरि मात्र छात्रबृति प्रदान गरिएको सिनियर फिल्ड अफिसर ठाकुरले बताउनुभयो ।
छात्रबृति पाउनेहरुमा अति बिपन्न परिवारका बालबालिका, अपाङ्ग बालबालिका, आमा बुबा गुमाएकाहरुलाई सहयोग गरिएको छ । यसरी नेपालगञ्जमा परियोजना संचालन भएको सरस्वती माध्यमिक बिद्यालयका ७ जना, धम्बोझी माध्यमिक बिद्यालयका ९ जना, मंगल प्रसाद माध्यमिक बिद्यालयका १० जना र महाराजा माध्यमिक बिद्यालय पुरैनाका ९ जनालाई छात्रबृति रकम प्रदान गरिएको मंचका अनुगमन तथा मुल्याँकन अधिकृत तेज बहादुर नेपालीले जानकारी दिनुभयो ।
धम्बोझी माध्यमिक बिद्यालयमा नेपालगञ्ज वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालको बिशेष उपस्थिति तथा मंगल प्रसादमा वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता र नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महासंघकी उपसचिव शोभा शाह, सरस्वाती माध्यमिक बिद्यालयका प्रधानाध्यापक सुरेश कुमार परसैला र एमपीका सहायक प्रधानाध्यापक कृपाराम बर्माको उपस्थितिमा बितरण गरिएको छ ।
छात्रबृति रकम हस्तान्तरण कार्यक्रममा बोल्दै महाशाखाकी उपसचिव शाहले नेपालगञ्जमा रहेका बिपन्न बिद्यार्थीले पाएको सहयोगको सदपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकले पाएको पैसाले अन्य केही कुरामा नभएर आफ्ना बालबालिकालाई अध्ययनमा आवश्यक पर्ने सामान मात्र खरिदतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।
आर्थिक अभावमा पढ्ने चाहना हुँदा हुँदै पनि पढ्न नपाएका बालबालिकालाई सहयोगले राहत मिल्ने भन्दै मंचलाई धन्यवाद दिनुभएको थियो ।
किशोर किशोरी र युवा शसक्तिकरण परियोजनामार्फत बाल गरिबी अन्तर्गत (जिविकोपार्जन तथा शिक्षा–८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्य–४ प्रतिशत र सरसफाई–७ प्रतिशत) कार्यक्रमहरु सचालन गरिएको छ । यस परियोजनामा १३ देखि १५ वर्ष तथा १६ देखि २४ वर्षकालाई लक्षित गरिएको छ ।





