
रासस
काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ ।
यस सम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मंसिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड-१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा=समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
‘अहिले पनि करिब दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौं’, उहाँले भन्नुभयो, ‘खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाइकन फर्काएका छैनौं । खोप केन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौं ।’
उहाँका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।
‘हामीसँग प्रशस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्’, सहप्रवक्ता डा.अधिकारीले भन्नुभयो, ‘खोप लगाउन कोही पनि नछुटून् भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौं ।’
उहाँले सर्वसाधारणमा कोभिड-१९ विरूद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ । अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत् दैनिक खोप ल्याइरहेको छ ।
मोडर्ना र फाइजर चाँडै आउँदै
सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ ।
मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सरकारले कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही मंसिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ ।





