
नेपालगन्ज । पुर्नस्थापना गृह व्यवस्थापनको लागि स्थानिय तह, प्रदेश सरकार र संघिय सरकार विच समन्वयात्मक भुमिका हुनुपर्नेमा जोड दिइएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार साथी संस्थाको आयोजनामा आयोजित सरकारी निकाय र सरोकारवालाहरुद्धारा शेल्टर अनुगमन र छलफल कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले हिंसापिडिहरुको वसोबासको लागि पहल गरिने बताउनुभयाे ।
उहाँले यसका लागि यससँग सम्वन्धित संघ सस्थाहरु सँग समन्वय र सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताउनुभयाे ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका जेष्ठ नागरिक तथा महिला शाखा प्रमुख शोभा शाहले पुर्नस्थापना गृहको स्तरउन्नती र दिर्घकालिन बाटो पहिल्याउन सुझाव दिनुभयाे ।
यस्तै, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विश्वकर्मा, बाँकेको राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि नारायणी वली, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि तथा साथी संस्थाको पुर्नस्थापना गृह संयोजक नर बहादुर विष्ट, कोलपुर नगरपालिकाका महिला तथा बालबालिका शाखाकी महिला बिकास निरीक्षक घटना शाह, विनरक ईन्टरनेशनलकी फिल्ड संयाेजक कमला पन्त र माइती नेपालका केशव कोइराला लगायतले बोल्नुभएकाे थियो ।
कार्यक्रमा विभिन्न सरकारी निकायका प्रमुख, संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा हिंसापिडितहरुको सहभागिता रहेको थियो ।
साथी संस्थाले संचालन गर्दै आएको पुर्नस्थापना केन्द्रका बारेमा संस्थाका सरस्वती शर्मा, लता श्रेष्ठ र दिपिका पुरीले जानकारी गराउनुभएकाे थियाे ।
संस्थाले पिडितहरुलाई घर पठाउनको लागि यातायात, तालिम तथा निरन्तर फलोअपका लागि बजेट अभाव भएको जानकारी गराएको थियो ।
यसका लागि स्थानिय सरकारले सहयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए भने उपस्थित जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।





