
नेपालगञ्ज । नेपालगञ्जका अति बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई बितरण गरिएको आर्थिक सहयोग वास्तविक आवश्यकता भएकालाई सहयोग भएको देखिएको छ ।
नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमध्ये छनौट तथा उनीहरुको अवस्था पहिचान गरी अध्ययनका लागि आर्थिक सहयोग बितरण गरिएको थियो ।
सहयोग पाएका बिद्यार्थीहरुको अवस्था पहिचान गर्न निस्किेको एक अनुगमन टोलीले वास्तबिक रुपमा आवश्यकता भएकालाई नै सहयोग गरिएको पाएको छ ।
नेपालगञ्जका बिभिन्न गाउँ तथा टोलहरुमा बस्दै आएका समस्यामै परेका बिद्यार्थीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले किशोर किशोरी तथा युवा शसक्तिकरण परियोजनामार्फत केहीदिन समयअघि छात्रबृति सहयोग रकम बितरण गरेको थियो ।
अनुगमनका क्रममा बिद्यार्थीहरुलाई पाएको सहयोगले ठुलो मद्दत पुगेको देखिएको छ । अनुगमन टोलीले उनीहरुका अभिभावकहरुसंग पनि अन्तरक्रिया गरेको छ । सो क्रममा अभिभावकहरुले आफुहरुलाई सहयोग गरिएको प्रति धन्यवाद दिएका थिए ।
सहयोग पाएका बिद्यार्थीहरु सामुदायिक बिद्यालयमा अध्ययन गर्दै आएका छन् । उनीहरु अध्ययनका सक्रिय रहेको पनि उनीहरुसंगको भेटमा देखिएको छ । अनुगमनले सहयोग पाएका कतिपय बिद्यार्थीहरुलाई बस्नसम्म गाह्रो भइरहेको र गुजरा चलाउन नै गाह्रो भएको पनि देखिएको छ ।
उनीहरुले पाएका सहयोग रकमले अध्ययनका लागि आवश्यक परेको सामान खरिद गरेका छन् । यस्तै जुन बिद्यार्थीले सहयोग पाएका छन् त्यसमध्ये पढाई राम्रो भएका बिद्यार्थीलाई बिद्यालयले समेत छात्रबृति दिएको छ ।
अनुगमन टोलीमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं १२ का वडा सदस्य तथा नगर शिक्षा समितिका तरुण बज्रचार्य, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखाकी उपसचिव शोभा शाह, सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, शिक्षा, युवा तथा खेलकुद शाखाबाट लोकेन्द्र बहादुर शाही, संस्थाका पदाधिकारी, मंचका कार्यक्रम संयोजक राम श्रेष्ठ, अनुगमन तथा मुल्याँकन अधिकृत तेज बहादुर नेपाली, सिनियर फिल्ड अधिकृत बृजेश ठाकुर, फिल्ड अधिकृत पुजा बर्मा लगायत रहनुभएको थियो ।
टोलीले नेपालगञ्जको पर्सनपुर्वा, बाल्मीकीटोल, सल्यानीबाग र धम्बोझी क्षेत्रमा बस्दै आएका बिद्यार्थीहरुको घरदैलोमा पुगेर स्थलगत अनुगमन गरेको थियो । अनुगमपछि निकालिएको निष्कर्षमा संस्थाले वास्तविकरुपमा सहयोगका आवश्यकता रहेका बिद्यार्थीहरुलाई नै सहयोग प्रदान गरेको भेटिएको महाशाखा उपसचिव शाहले जानकारी दिनुभयो ।
मंचले नेपालगञ्ज उपमहानगरपालिकाका चार वटा सामुदायिक बिद्यालयमा अध्ययनरत ३५ जना बिद्यार्थीलाई छात्रबृति सहयोग गरेको थियो । छात्रबृति पाउनेमा नेपालगञ्जस्थित सरस्वती मा.बि, मंगल प्रसाद मा.बि, धम्बोझी मा.बि र महाराजा मा.बि पुरैनामा अध्ययनरत बिद्यार्थीहरु रहेका छन् ।






