
रमेशकुमार यादव
बालापुर । बाँकेको डुडुवा गाउँपालिकास्थित बभनपूर्वा सामुदायिक वनमा जग्गा अतिक्रमण गरि निर्माण गरिएका ५ वटा गोठ भत्काइएको छ ।
डुडुवा गाउँपालिकाको वडा न ४ र ५ मा पर्ने उक्त सामुदायिक वनको मिलनचोक, छग्रहवा, हात्तीसार बालापुरका स्थानीयले गोठ निर्माण गरेकाको गोठमध्ये २ वटामा आगो लगाएर र ३ वटा गोठका खाँबाहरु काटेर भत्काइएको बालापुरका स्थानीय बाबादिन यादवले जानकारी दिनुभयो ।
सामुदायिक वनका अध्यक्षका पति भिखु वर्मा नेतृत्वको टोलीले गोठ भत्काएएको हो । स्थानीय उक्त स्थानमा वर्षौदेखि बसिरहेपनि वनले बिना कुनै सूचना गोठ भत्काएको स्थानीयले जनाएका छन् ।
यता डिभिजन वन कार्यलय नेपालगन्जले सामुदायिक वन किनारमा अतिक्रमण गरेर बनाइएका गोठ जलाउने र खाँबो काट्नु अघि जानकारी दिनुपर्ने जनाएको छ ।
मिलन चोकमा पनि यही वनको जग्गा अतिक्रमण गरेर घर बनाइएका छन् । ‘मिलन चोकका ठूल्ठूला घर भत्काउ, अनि मात्र साना झुपडी भत्काउँदा सबैलाई समान न्याय हुन्छ,’ डुडुवा गाउँपालिका उपाध्यक्ष साइदा बानोले भन्नुभयो, ‘सूचना बिना एक्कासी घोठ भत्काउनु र जलाउनु राम्रो काम भएन ।’
राप्ती नदीले जग्गा कटान गरेकापछि स्थानीयले सामुदायिक वनको किनारमा ०७० सालदेखि गोठ बनाएर बसेका छन् ।





