
नेपालगञ्ज । कोरोना बिरुद्धको खोपका बारेमा जनचेतना जगाउन गाउँ गाउँमा घरदैलो कार्यक्रम संचालन गरिएको छ ।
कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीसंगै जोखिमको अवस्थामा नपुग्नका लागि बनाइएको खोपका बारेमा गाउँ घरसम्म जानकारी प्रदान गर्न नेपालगञ्जमा घरदैलो कार्यक्रम संचालन गरिएको थियो ।
सोमबार र मंगलबार दुई दिनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ को बिर्ता गाउँमा सचेतना फैलाइएको छ । सो क्रममा कोरोना बिरुद्धको खोप लगाएका नलगाएका घरमा स्टीकर समेत टाँस गरिएको छ । अन्य वडाहरुमा समेत यो कार्यक्रम संचालन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा सहकार्यमा सामाजिक बिकास मंचले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपालगञ्जका बिभिन्न गाउँहरुमा सचेतना फैलाउने कार्य हुँदै आएको छ ।
मंंचद्धारा नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्तर्गत सडक नाटक, माईकिंग अभियान, पर्चा पम्प्लेट बितरण र घरदैलो कार्यक्रममार्फत जनचेतना फैलाउने कार्य भइरहेको मंचका सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।
घरदैलोमा वडा नं २१ का वडा अध्यक्ष रंजित खाँ, वडा सदस्य नन्कई खाँ, युवा क्लब, स्वास्थ्य स्वय सेविका लगायतको सहभागिता रहेको थियो ।







