
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन कार्यलाई व्यवसायीकरुपमा अघि बढाउन सरोकारवालासंग छलफल गरिएको छ ।
शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा सरोकारवालाबीच छलफलको आयोजना गरि यहाँको दिसाजन्य लेदो व्यवस्थापन कार्यलाई व्यवसायीक रुपमा अघि बढाउने कुरामा छलफल गरिएको हो ।
उपमहानगरपालिकाभित्र निस्कने दिसाजन्य लेदो व्यवस्थापन कार्यका लागि ढाँचा समेत तयार गरिएको छ । संस्थागत दिसाजन्वय लेदो व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन सेवाको दिगोपनामा सुधार, स्पष्ट सेवा खाका र आय, बैज्ञानिक सेवा शुल्क र आय व्यवस्थान र श्रोतको इष्टतम प्रयोगको उद्देश्यका बिषयमा छलफल गरिएको थियो ।
छलफलमा नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, कार्यपालिका सदस्य, वडा अध्यक्ष र नेपालगञ्जभित्र रहेका बिभिन्न संस्थाहरुका प्रमुखको उपस्थिति रहेको थियो । मेयर डा.राणाले दिसाजन्य लेदो व्यवस्थापन ढाँचा निर्माणको आवश्यकता रहेको भन्दै ढाँचा अनुसार व्यवसायीकरुपमा अघि बढ्न सके नेपालगञ्जमा राम्रो कार्य हुने बताउनुभयो ।
गेरुवा ग्रामीण जागरण संघ बर्दिया, इको कन्सर्न र एस एन भी नेपालले आयोजना गरेको छलफलमा ढाँचाका बारेमा कन्सर्नका नितेश श्रेष्ठ र कृष्णराम यन्दोले प्रष्ट पार्नुभएको थियो ।
यस्तै नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनका लागि बिभिन्न कार्यहरुमा सहयोग कार्यक्रम गर्दै आएको एस एन भीका सुरजराज भण्डारी र गेरुवा कार्यक्रम संयोजक गफ्फार अलि शेषले व्यवस्थापनका लागि गर्न सकिने कामबारे जानकारी गराउनुभएको थियो ।





