
बझाङ । जिल्लामा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए ।
मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।
नगरपालिकाका सिनियर अहेब भूमिराज जोशीका अनुसार बैंग्लौरबाट उनी, उनको छोराको परिवारसहितको एक समूह आएर क्वारेन्टिनमा बसेको थियो ।
‘क्वारेन्टिनमा बस्ने क्रममा साउन १ गते उनमा स्वास्थ्य समस्या आएको थियो, जोशीले भन्नुभयो, त्यसपछि उनलाई जिल्ला अस्पताल लैजानका लागि एम्बुलेन्स समेत मगाएका थियौं । तर क्वारेन्टिनमै बसेका उनको छोराले अस्पताल लैजानुपर्ने बिरामी नभएको भन्दै क्वारेन्टिनमै झारफुक गरेका थिए ।’
१४ दिन क्वारेन्टिनमा बस्दा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपछि उनीहरुलाई परीक्षण नगरी घर पठाइएको थियो । ‘साउन ६ गते घर जाने क्रममा उनीमा कुनैपनि स्वास्थ्य समस्या थिएन । एक्कासी साउन ९ गते उनको मृत्यु थियो ।
वृद्धको स्वाब घाटमै पुगेर संकलन गरिएको थियो । डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा उनको नतिजा पोजेटिभ आएको छ ।
मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टिको क्रममा एक सय ५० भन्दा बढी मलामी सहभागी भएका थिए ।
‘मृत्यु पनि कोरोना पोजेटिभ आएपछि अहिले कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । हामी मलामी र आफन्तहरू पनि खोजिरहेका छौँ’ प्रजिअ भण्डारीले भन्नुभयो ।
उहाँले मृतकको सम्पर्कमा आएका सबैको स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । अनलाईनखबर





