नेपालगञ्जका ७ वटा वडा बाल बिवाहमुक्त घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।

आईतबार औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३, ४, ९, ११, १८, २० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो ।

सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बाल विवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपियाँ प्रोत्साहन बापत उपलब्ध गराउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले घोषणाको पूर्ण कार्यान्वयनमा जनप्रतिनिधी, कर्मचारी र स्थानीय अगुवाको निरन्तर ध्यान रहनुपर्ने सुझाव दिनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यसअघि नेपालगञ्जका चारवडा बाल विवाहमुक्त घोषणा भईसकेका छन् । नगरका २३ वडा मध्ये बाँकी रहेका वडामा सर्भेक्षण सकेर विभिन्न सचेतनामुलक अभियानपछि छिट्टै बालविवाहमुक्त नगर घोषणाको तयारी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मो.अयुव सिद्धिकी, वडा नम्बर ४ का अध्यक्ष मो.सफिक वेहना, वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष सिमा केसी, वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्की, वडा नम्बर २१ का वडा अध्यक्ष रञ्जित खाँ लगायतका जनप्रतिनिधीलाई बाल विवाहमुक्त वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

Previous articleबाँकेको नरैनापुरमा ग्याँस सिलिन्डर र चुल्हो वितरण शुरु
Next articleगौडेलको नेतृत्वमा पदाधिकारीको उम्मेदवारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here