
नेपालगञ्ज । मंगलबार रातीदेखि तीन चिसो बढ्ने अनुमान गरिएको मौसम पुर्वानमान महाशाखाले जनाएको छ ।
आज मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म देशको सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने छ ।
शनिबारसम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।





