
काठमाडौं । पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ ।
बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ ।
तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ । २०६८ मा तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जनसंख्या थियो । विभागका अनुसार १० वर्षअघि तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । अहिले सो संख्या बढेर ५३.६६ प्रतिशत पुगेको हो ।
त्यो भनेको तराईमा मात्रै २३ लाख ४७ हजार १२३ ले जनसंख्या वृद्धि भएको हो । यस्तै, हिमाली क्षेत्रमा १० वर्षअघि कुल जनसंख्याको ६।७३ प्रतिशत अंश रहेकोमा अहिले ६।०९ प्रतिशतमा झरेको देखिएको विभागले जनाएको छ ।
२०६८ सालमा हिमाली क्षेत्रको जनसंख्या १७ लाख ८१ हजार ७९२ थियो । हाल जनसंख्या घटेर १७ लाख ७८ हजार १०४ पुगेको हो । यसैगरी पहाडी क्षेत्रमा १० वर्षअघि १ करोड १३ लाख ९४ हजार ७ अर्थात ४३.०१ प्रतिशत जनसंख्या थियो । अहिले सो जनसंख्या १ करोड १७ लाख ४८ हजार ५४८ पुगेको हो ।
विभागका अनुसार सो जनसंख्या पहिले ४३.०१ प्रतिशत रहेकोमा ४०.२५ प्रतिशतमा झरेको हो । यसैगरी जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ ।
१० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो । विभागका अनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो ।
अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ । जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन् ।
त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन् । १० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो ।जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए ।
त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२.३६ प्रतिशत मात्रै थियो । त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ । यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ ।
बुधबार सार्वजनिक गरेको तथ्यांकका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।





