
नेपालगन्ज । नेपाली कांग्रेसका नेता एवम् पुर्वमन्त्री दीपक गिरीले स्थानीय तहको निर्वाचनबारे पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल गरेर निकास दिनुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रिय समिति वा पदाधिकारी बैठक राखेर निर्णय गर्दा उचित हुने उहाँको सुझाव छ ।
नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रिय सदस्य गिरीले मुलुकमा संम्बैधानिक संकट आउँदैन भने ऐन र नियमलाई बदलेर भएपनि तीन तहको निर्वाचन एकै पटक गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ऐन नियम बदल्न मिल्छ भने तीन वटै निर्वाचनसँगै गर्दाखेरी नेपाललाई भार कम हुन्छ, मुलुकलाई क्षति हुदैन, राष्ट्रलाई क्षति हुदैन भने संसदको निर्वाचन पहिले त्यसपछि स्थानीय निर्वाचन गर्दापनि बेटर हुन्छ ।’
वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धन नभएको भए कांग्रेसले राष्ट्रिय चुनाव जित्ने सम्भव नै नहुने उहाँको भनाई छ । गठबन्धन आवश्यक नबनेको भए यो चुनाव जित्न कठिन हुने बताउनुभयो ।
गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशमा कांग्रेसले पुराना नेता युवराज शर्मालाई उम्मेदवार बनाएको र पार्टीले सही मुल्यांकन गरेको समेत बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले पार्टीभित्र बिरोधका नाममा बिरोध गर्न नहुने बताउनुभयो । चुनावको समयमा एउटा गुट बनेपनि सधैंभरी गुट खडा गरेर नेतृत्वको विरोध गर्न नहुने नेता गिरीको भनाई छ ।
चुनाव लड्दा आफु पनि कुनै समुहबाट लडेको स्मरण गराउँदै नेता गिरीले अब आफु समग्र कांग्रेस पार्टीको गु्रपमा रहेको स्पष्ट पार्नुभयो ।
कांग्रेसलाई एकतावद्ध गराउन पार्टीभित्र धेरै समयसम्म गुट बनाउन नहुने उहाँको भनाई छ । ‘शेरबहादुर जीले राम्रो काम गरेको कुरामा गुटको नाममा धेरै बिरोध गर्नु उचित होइन भन्छु म, यो समय संवेदनशिल समय हो, आज उहाँले गरेको उचित कुराको म कदर गर्छु,’ गिरीले भन्नुभयो, ‘गलत काम गर्नुभयो भने बिरोध पनि गर्छु ।’ तर, अहिले नै नेतृत्वको आलोचना गर्ने समय नआएको बताउनुभयो ।
पार्टीमा अहिले खारिएको ब्यक्ति सभापति र युवाहरु पनि आएको भन्दै देउवाले उचित ढंगले पार्टी चलाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । संसदीय प्रणालीमा जनताप्रति जिम्मेवारी लिने संसद भएपनि एमालेका कारण संसद लामो समयदेखी चल्न नसकेको आरोप लगाउनुभयो ।
नेपाल भारत सिमा समस्यालाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्तरबाट बार्ता गरेर समाधान गर्नुपर्ने सुझाव दिनुभयो । तर भारतलाई गाली गरेर मात्र राष्ट्रवादी नहुने उहाँको बुझाई छ ।
केवल चर्चामा आउनका लागि कतिपयले भारतलाई गाली गरेको र भारतको पैसा खानेले नै भारतलाई गाली गर्ने गरेको पुर्वमन्त्री गिरीको आरोप छ ।
युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको पत्रकार भेटघाटका क्रममा नेपाल पत्रकार महासंघका पुर्वमहासचिव एवम् कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कांग्रेसका नेताहरु लगायतको उपस्थिती रहेको थियो ।





