
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा केएर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि-ग्रुपद्वारा सन्चालित शीत लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तगर्त नेपालगन्जका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सामग्री वितरण गरिएको हो ।
आईतवारदेखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नं.१, ४ र वडा नं. ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीत लहरबाट प्रभावित अति विपन्न १ सय ७० धरधुरीले भौचर मार्फत १३ हजार ५ सय बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्नेछन् ।
साथै ४० जना गर्भवती र सुत्केरी महिलाले २ हजार बराबरको पोषण खाद्यान्न प्राप्त गर्नेछन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुले भौचर मार्फत सामग्री प्राप्त गर्ने व्यवस्था मिलाइएको बी-ग्रुपका अध्यक्ष टेक बहादुर पुनले जानकारी दिनुभयो ।
लाभग्राहीहरुले ५ हजार २ सय बराबरको दाल, चामल, नुन, चिनी, तेल, साथै २ हजार ५ सय ५० बराबरको पारिवारीक सामाग्री कम्बल सिरक, पिफम र ५ हजार ७ सय ५० को आधारभुत ब्यक्तिगत न्यानो कपडा लगायतका विभिन्न खाद्यान्न तथा न्यानो कपडा सामग्री गरी जम्मा १३ हजार ५ सय बराबरको प्रदान गरिने जनाईएको छ ।
वितरण कार्यक्रमलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडा अध्यक्ष रिजाल र बि-ग्रुपका अध्यक्ष पुनले लाभग्राहीलाई सामाग्री वितरण गरी उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रवक्ता एवं वडा अध्यक्ष रिजालले शीत लहरबाट प्रभावित घरघुरीलाई सहयोग हुदाँ विपन्न परिवारलाई यो सहयोग प्याकेजले ठूलो राहत पुगेको बताउनु भयो ।
बी–ग्रुपका कार्यक्रम संयोजक सोम गुरुङ्गले अति विपन्न र शीत लहरबाट प्रभावित परिवारहरुलाई नेपालगन्ज उपमहानगर पालिकाको सिफारिसमा खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । सो वितरण कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले अनुगमन समेत गर्नुभएको थियो ।





