
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ निर्माणाधिन होल्डिङ सेन्टरको निरिक्षण गरिएको छ ।
नेपाली सेनाले ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई ४ विघा ८ धुर क्षेत्रफलमा निर्माणको जिम्मा रहेको होल्डिङ सेन्टरको आइतबार नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठसहितको टोलीले निरिक्षण गरेको हो ।
अनुगमनमा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति एवम् सहायक रथी हरेन्द्र पाठक, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, श्री भैरव प्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमत बहादुर कार्की, बाँकेका प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.बीरेन्द्र चन्द लगायतको उपस्थिती रहेको थियो ।
सो क्रममा उपरथी श्रेष्ठले सेनाले निर्माण कार्यको नेतृत्व गरेपनि सबैको समन्वय र सहकार्यबाट होल्डिङ सेन्टर निर्माणको काम सम्पन्न हुने बताउनुभएको थियो ।
भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने र त्यहाँबाट गन्तब्यमा पठाउने उद्देश्यले सरकारले होल्डिङ सेन्टर बनाउन लागेको हो । २०७८ साउन २४ गते २९ करोड ३८ लाख २० हजार ८९ रुपैयाँमा ठेक्का स्वीकृत भएर काम अगाडी बढाएको छ ।





