खोप केन्द्रमा खोप लगाउनेहरुको उपस्थिति बढ्यो (फोटो फिचर)

नेपालगञ्ज । नेपालगञ्जका खोप केन्द्रहरुमा कोभिड-१९ बिरुद्धको खोप लगाउनेहरुको उपस्थिति बढ्न थालेको छ । कोरोना बिरुद्धको खोप अभियान संचालन भइरहेका नेपालगञ्जका बिभिन्न खोप केन्द्रहरुमा खोप लगाउनेहरुको उपस्थिति पछिल्लो समय बढ्न थालेको छ ।

सरकारले केही समयदेखि जेष्ठ नागरिक तथा दिर्घरोग भएका व्यक्तिहरुका लागि बुष्टर डोज तथा खोप लगाउन छुटेकाहरुका लागि खोप अभियान तिब्र रुपमा संचालन गरेको छ ।

तेस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि खोप नलगाएका व्यक्तिहरु हाल खोप लगाउन थालेका छन् । खोप लगाउन छुटेकाहरुलाई खोप अभियानमा सहभागि बनाउन र खोपबारे नकारात्मक धारणा रहेकाहरुलाई नेपालगञ्जमा सचेतना कार्यक्रमहरु संचालन गरिएको छ ।

उपमहानगरपालिकाको समन्वय सहकार्यमा सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) द्धारा जोखिम संचार र समुदाय संलग्नता परियोजनामार्फत नेपालगञ्जका टोल टोलमा कोरोना बिरुद्धको सचेतना अभियान निरन्तर संचालन भएको छ ।

खोप केन्द्रमा खोप लगाउनेहरुको उपस्थिति बढेको नेपालगञ्ज वडा नं २ स्थित नगर स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार खोप केन्द्रमा ९९ प्रतिशत व्यक्तिहरु खोपको पहिलो मात्रा लिन आइरहेका छन् ।

शुरुमा संचालन भएका खोप अभियानका क्रममा मानिसहरुमा खोपबारे भ्रमहरु रहेको देखियो, प्रमुख केसीले भन्नुभयो, हाल उपमहानगरपालिकाको समन्वयमा संचालन भएका सचेतनामूलक कार्यक्रममार्फत भ्रम चिर्ने कार्य भएका कारण नै खोप लगाउनेहरुको संख्या बढ्न थालेको छ ।

यस्तै मंचले स्वयंसेवक राखेर खोप केन्द्र व्यस्थित बनाउने काममा सहयोग पुर्याएको प्रमुख केसीले बताउनुभयो । खोप केन्द्रका साथै मंचले जमुनाहा हेल्थ डेस्कमा समेत स्वयंसेवक खटाएको छ । भारतबाट फर्किने नेपालीहरुको कोरोना एन्टीजेन परिक्षण कार्यमा सहयोग पुर्याउन जमुनाहा हेल्थ डेस्कमा स्वयंसेवक खटाएको डेस्कका कर्मचारी बताउँछन् ।

जमुनाहा हेल्थ डेस्कमा तीन जना स्वयंसेवक खटाएको छ । मंचले नेपालगञ्जमा निरन्तर कोरोना बिरुद्धको सचेतनामूलक माईकिङ्ग अभियान, घरघरमा पुगेर खोप कार्यक्रममा प्रेरित गर्न घरदैलो, वडाका स्वास्थ्यकर्मीसहित खोप बारेको भ्रम निवारण कार्यक्रम, सडक नाटक लगायतका अभियानहरुमार्फत कोरोना बिरुद्ध सचेतना जगाउँदै सर्वसाधारणलाई खोप लगाउन प्रेरित गर्ने कार्य गरिरहेको मंचका सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जमा निर्माणाधिन होल्डिङ सेन्टरको निरिक्षण
Next articleबासको महाधिबेशन चैत्र १८ र १९ गते नेपालगञ्जमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here