
नेपालगञ्ज । कोरोना संक्रमणका कारण स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्रदान हुने सेवा १९ गतेबाट संचालन हुने भएको छ ।
प्रशासनले सोमबार एक सूचना जारी गर्दै स्थगन गरिएको सेवा बुधबार १९ गतेबाट संचालन हुने जानकारी दिएको हो ।
तर प्रशासनमा सेवा लिने जानेहरुले अबदेखि केही नियमको पालना गर्नुपर्ने भएको छ । सेवा लिन जाने व्यक्तिहरुले कोभिड-१९ बिरुद्धको खोप कार्ड वा मोबाईलमा फोटो भएको हुनुपर्नेछ । सो खोप कार्ड अनिवार्य रुपमा बोकेको हुनुपर्ने र देखाउनुपर्नेछ ।
यस्तै प्रशासन जाने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएको छ भने कार्यालय परिसरमा प्रवेश गरिसकेपछि सम्बन्धित शाखा वा फाँटमा सेवा लिन पुर्व तोकिएको स्थानमा साबुन पानीले हात धुनुपर्ने वा स्यानिटाईजरको प्रयोग गर्नुपर्ने भएको छ ।
यसैगरी कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्ने तथा नेपाल सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । यस्तै रुघाखोकी, ज्वरो जस्ता कोभिड-१९ को लक्षण देखिएका सेवाग्राही कार्यालयमा प्रवेश नगर्न अनुरोध गरिएको छ ।





