
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाई छिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ ।
भारतीय बजार रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७ सय ८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५ सय ११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) जम्मा ८ किलो २ सय ९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान ११ बजे बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।
उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।





